बालमन्दिर प्रकरणमा अख्तियारको प्रवेश, सीआईबी पनि छुट्टै अनुसन्धानमा लागि

काठमाडौँ । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिन स्थापित नेपाल बाल संगठनको नक्साल, काठमाडौँस्थित बालमन्दिर का लागि जोहो गरिएको २८ रोपनी जग्गा अहिले व्यापारिक घराना विशाल ग्रुपको कब्जामा छ। बाल संगठनका तत्कालीन पदाधिकारीहरूको मिलीभगतमा व्यापारीले कब्जा गरेको यो जग्गाबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गरेको छ।
नक्सालमा रहेको निजी विद्यालय, बृहस्पति विद्या सदन सञ्चालनका लागि विशाल ग्रुपले बाल संगठनको २८ रोपनी ५ आना १ पैसा जग्गा कसरी कब्जा गर्यो भन्ने फेहरिस्त आयोगले २०७९ माघ ६ गते विस्तृत खोज रिपोर्टमार्फत उजागर गरेको थियो। अहिले विशाल ग्रुपका सदस्यहरू नै बहुसंख्यक लगानीकर्ता रहेको बृहस्पति स्कुलले यो जग्गा २०४९ सालयता बाल संगठनका पदाधिकारीसँग पटक–पटक गैरकानूनी सम्झौता गरेर कब्जा गरिरहेको छ।
बाल संगठनबाट लामो समयका लागि लिजमा हात पारेको जग्गामध्ये विशाल ग्रुपले ९ रोपनी जग्गा ‘सब–लिज’मा दिएको देखाएको छ। जबकि त्यो सब लिजमा दिइएको भनिएको जग्गामा पनि अधिकांश लगानी विशाल ग्रुपकै रहेको राय स्कुल सञ्चालन भइरहेको छ। राय स्कुल भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट मान्यताप्राप्त विद्यालय हो। लगानीकर्ता तिनै भए पनि ‘सब लिज’ देखाउनलाई हुनसक्छ, राय स्कुलले बृहस्पतिलाई ९ रोपनी जग्गा र त्यसमा बनेको ५ तले भवनको मासिक एक लाख रुपैयाँ भाडा बुझाउने गरेको छ।
संसद्मा समेत पटक–पटक उठेको यो विषयमा सरकारले पहल नगरे पनि चौतर्फी दबाबपछि संवैधानिक निकाय, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गरेको छ। अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बालमन्दिर प्रकरणमा आयोगले अनुसन्धान शुरू गरिसकेको बताए।
“बाल संगठनको जग्गा बृहस्पति विद्या सदन स्कुलले कसरी भाडामा लिएको हो भन्नेबारे आयोगले अनुसन्धान शुरू गरिसकेको छ,” घिमिरेले भने, “अनुसन्धान भइरहेको छ, बाँकी कुरा अहिल्यै भन्न मिल्दैन।”
बालमन्दिर जग्गा प्रकरणमा अख्तियारले यसभन्दा पहिले पनि अनुसन्धान गरेको थियो। त्यसबेला बाल संगठनबाट बृहस्पति स्कुलले १३ रोपनी १२ आना १ पैसा जग्गा लिजमा लिँदा भाडा रकम नमिलेको भन्दै लिज सम्झौता नै रद्द गर्न अख्तियारले बाल संगठनलाई निर्देशन दिएको थियो। संगठनले आयोगको निर्देशनअनुसार लिज सम्झौता खारेज गर्ने निर्णय गरेपछि त्यसविरुद्ध बृहस्पति स्कुल अदालत गएको थियो। तर अदालतमा मुद्दा छिनोफानो हुन विलम्ब भएपछि संगठनका तत्कालीन पदाधिकारीसँग ‘मेलमिलाप गरेर’ बृहस्पतिले पुनः त्यो जग्गा हात पारेको थियो।
त्यसबेला अदालतमा मुद्दा विचाराधीन रहेकै बेला संगठनका अध्यक्ष रीता सिंहले यो जग्गा ठेकेदार–व्यापारी मनोजकुमार मिश्रलाई लिजमा दिने सम्झौता गरेकी थिइन्। पछि त्यो सम्झौता त अघि बढ्न पाएन, अख्तियारको अनुसन्धान पनि त्यसै सामसुम भएको थियो।
यसपालि आयोगले शुरू गरेको अनुसन्धान पनि कहिले र कसरी टुंगिएला भन्ने निश्चित नभएको आयोगकै एक उच्च अधिकारीले बताए। “बाल संगठनका पदाधिकारीहरूले अख्तियारको दुरूपयोग गरेको स्पष्ट नै छ। तर, पहिले पनि लिज सम्झौता खारेज गर्न मात्र निर्देशन दिने काम भयो,” उनले भने, “अहिले पनि त्यस्तै हुने हो कि भन्ने डर छ। माथि माथि कुरा मिलाइन्छ, हामीले अनुसन्धान बीचमै रोक्नुपर्ने अवस्था आउँछ।”
बालमन्दिर प्रकरणमा अनुसन्धान अघि बढ्दा राजनीतिक कनेक्सन भेटिने र बीचमै अनुसन्धान सामसुम हुने गरेकाले यसपालि पनि खासै आशावादी नरहेको बाल संगठनका अधिकारीहरू नै बताउँछन्। हुन पनि बालमन्दिर प्रकरणको केन्द्रमा तत्कालीन अध्यक्ष रीता सिंह छन् जो नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकी छोरी हुन्। गणेशमानकै ‘इच्छा’मा उनलाई बाल संगठनको अध्यक्ष बनाइएको थियो।
उनी अध्यक्ष बनेपछि बाल संगठनको जग्गा लिज प्रकरणमा सिंह परिवारकै भूमिका रहेको बाल संगठनका तत्कालीन कर्मचारीहरू बताउँछन्। त्यसमा पनि रीताका भाइ, कांग्रेस सांसद प्रकाशमान सिंह जोडिने उनीहरूको भनाइ छ। “रीता सिंहले भाइ प्रकाशमानसँग सरसल्लाह गरेर नै बाल संगठनको सम्पत्ति हिनामिना गरेको देखिन्छ,” सिंह बाल संगठनमा रहँदाका एक पदाधिकारीले भने।
तर बालमन्दिर प्रकरणमा अनुसन्धान शुरू गरेको अख्तियारले यसको केन्द्रमा रहेकी तत्कालीन अध्यक्ष रीता सिंहसँग सोधपुछ गर्न पाएको छैन। आयोगका एक अधिकारीले सिंह गम्भीर बिरामी परेकाले उनीसँग बयान लिन नपाएको बताए। “अनुसन्धानका क्रममा कागजात अध्ययनसँगै बयान पनि लिन शुरू गरिहाल्ने योजना थियो। तर यो प्रकरणका मुख्य पात्र (रीता सिंह) नै बिरामी परेकाले बयान लिन कठिन भइरहेको छ,” उनले भने।