गौशाला–२६ को निवेदन : ममाथि बलात्कार भएको होइन, संस्थाको दबावमा परें
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कारको आरोपमा जाहेरी दिएकी गौशाला–२६ ले उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन नगरिदिन निवेदन दिएकी छन् ।
उनले उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा अब सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन निवेदन दिएकी हुन् । उच्च अदालत पाटनले गौशाला–२६ को जाहेरीपछि दर्ता भएको मुद्दामा सफाइ दिने फैसला सुनाएको थियो ।
मुद्दाको पूर्णपाठ तयार भएर मंगलबार मात्र उच्च सरकारी वकिल कार्यालयमा आइपुगेको थियो । बिहीबार गौशाला २६ आफै निवेदन लिएर पुगेकी थिइन् । उनले निवेदनसँगै आफ्नो नागरिकताको सक्कलै प्रति पनि बुझाएकी छन् । उनले आफू यो मुद्दाका कारण धेरै मानसिक तनावमा परेको र सामाजिक रूपमा समेत अप्ठ्यारो अवस्थामा परेका कारण थप अगाडि नबढोस् भन्ने चाहना राखेर निवेदन दिएको उल्लेख गरेकी छन् । उनले हस्त लिखित निवेदन उच्च सरकारी वकिल कार्यालय पेस गरेकी छन् । गौशाला २६ ले आफै आएर मुद्दा अघि नबढाउन निवेदन दिएको कुरा उच्च सरकारी वकिल कार्यालयका प्रमुख शङ्कर खत्रीले पुष्टि गरेका छन् । उनले निवेदनबारे थप बोल्न चाहेनन् ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसला सुनाउदै लामिछानेलाई सफाइ दिएको थियो । उक्त फैसलाको पूर्णपाठ साउन ४ गते सार्वजनिक भएको थियो ।
पीडितले प्रतिकार गरेको, कराएको, चिच्याएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाको लागि कुनै सहयोगको याचना गरेको नदेखिएको विषयलाई अदालतले सफाइको एउटा आधार बनाएको थियो । यो तथ्यलाई वोजनी होटल नगरकोटका सुपरभाइजर समिर पुरी, होटल इनका सुरक्षाकर्मी राजन राणा, बाबुकाजी थापामगर, होटल इनका वेटर सबिन श्रेष्ठ, रिसेप्सनिष्ट अनिष श्रेष्ठको कागज र बकपत्रबाट समेत उक्त होटेलमा जान पीडितको सहमति रहेको पुष्टि भएको अदालतको ठहर थियो ।
काठमाडौँ जिल्ला अदालतले गत पुस २५ गते गौशाला–२६ बालिग रहेको ठहर गर्दै सन्दीपलाई बलात्कारको मुद्दामा ८ वर्ष कैदको फैसला गरेको थियो। त्यसविरुद्ध सन्दीप लामिछाने उच्च अदालत पाटन गएका थिए। किशोरीको तर्फबाट पनि उनी नाबालिग नै रहेको दाबी गर्दै उच्च अदालतमा निवेदन दिएका थिए।
उच्च अदालतले जिल्ला अदालतको फैसला बदर गर्दै सन्दीपलाई सफाइ दिएको थियो।
गौशाला २६ ले सन्दीपविरुद्ध २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्।
२०७९ असोज २० गते काठमाडौँ फर्किएका सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर अनुसन्धान सुरु गरिएको थियो।
काठमाडौँ जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
उक्त आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले विदेश जान नपाउने सर्तसहित पुस १८ गते २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
त्यसविरुद्ध पनि सर्वोच्च पुगेका सन्दीपलाई सर्वोच्च अदालतले फागुन १५ गते विदेश जान पनि बाटो खोलिदिएको थियो।
पत्रमा के छ ?
पीडितको पत्रमा आफूले यो मुद्दा सुरु भएदेखि धेरै तनाव खेपेको र सामाजिक रूपमा अप्ठ्यारोमा परेको दाबी गरेकी छिन् । उनले आफूले न्यायका लागि धेरै संर्घष गरेको तर यो क्रममा धेरै तनाव र दुःख झेलेकाले अब विवाद भन्दा अलि पर रहेर बस्न चाहेकाले मुद्दालाई अहिलेकै रूपमा स्वीकार गरेर बस्न चाहेको उल्लेख गरेकी छन् ।
उनले आफूलाई समाजबाट धम्की आउने क्रम अहिले पनि जारी रहेको र यसका कारण अध्ययनमा पनि असर परेको दाबी गरेकी छन् । उनले आफू अव आफ्नो अध्ययनमा मात्र केन्द्रित हुन चाहेको र मुद्दाको रूपमा धाउन नसक्ने भएकाले सर्वोच्च अदालतमा पुनरावेदन नगरी दिन उनले अनुरोध गरेकी छन् ।
उनले लामिछानेसँगको भेटदेखि अहिलेको अवस्थासम्म आइपुग्दा आफूले असह्य पीडा भोगेको र समाजबाट पनि धेरै कुरा सिकेको भन्दै अव दबाब थेग्न नसक्ने अवस्थामा पुगेकाले निवेदन दिएको र साथै आफ्नो सक्कल नागरिकता पनि पेस गरेकाले सोही अनुरूप निर्णय गरिदिन आग्रह गरेकी छन् ।