मौद्रिक नीति ढिलो आयो तर लचिलो ल्याएका छाैं: गभर्नर महाप्रसाद अधिकारी
चितवन। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गरेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति जारी गर्दै यस आर्थिक वर्षको मौद्रिक नीति लचिलो ल्याएको बताएका हुन् । अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको उनले बताए ।
आर्थिक वर्ष २०८१/८२ मा कर्जा विस्तारको लक्ष्य १२.५ प्रतिशत हुने प्रक्षेपण माैद्रिक नीतिकाे छ । निजी क्षेत्रमा जाने कर्जा विस्तारको लक्ष्यलाई गत आर्थिक वर्षको भन्दा १ प्रतिशतले बढाउने लक्ष्य लिएको गभर्नर अधिकारीले बताए । गत आ.व.मा नेपाल राष्ट्र बैंकले लागि ११.५ प्रतिशतको कर्जा विस्तारको लक्ष्य राखेको ५.९८ प्रतिशतको प्रगति भएको थियाे ।
नीतिले उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व कायम हुनेगरी नियामकीय व्यवस्था गरेको छ । समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल असर नपर्नेगरी कर्जा प्रवाहलाई सहज बनाउन मौद्रिक नीति र नियामकीय नीतिबीच तादात्म्यता कायम गरिएको गभर्नर अधिकारीले जानकारी दिए ।
मौद्रिक नीति के हो ?
कुनै पनि राष्ट्रका लागि सबैभन्दा महत्त्वपूर्ण स्रोतमा वित्तीय स्रोत पर्छ।
त्यो स्रोतलाई मुलुकको उत्पादन, रोजगारी अनि वित्तीय स्थायित्व कायम गरेर भुक्तानी प्रणालीलाई पनि बलियो बनाउने उद्देश्य लिएर निर्माण गरिने नीति नै मौद्रिक नीति रहेको जानकारहरू बताउँछन्।
“जसरी बजेटमा सरकारको आम्दानी र खर्चको तथा राजस्व दरबारे निर्धारण गर्छ त्यस्तै वित्तीय स्रोतबारे त्यस्तैखाले कुराहरू मौद्रिक नीतिले गर्छ,” नेपाल ब्याङ्कर्स असोसिएशनका पूर्वअध्यक्ष भुवन दाहाल भन्छन्।
विज्ञहरूका अनुसार सामान्य रूपमा व्याख्या गर्नुपर्दा मौद्रिक नीतिले मुद्राको मूल्य निर्धारण गर्छ।
त्यसले गर्दा केन्द्रीय ब्याङ्कले सार्वजनिक गर्ने यो नीतिले परोक्ष रूपमा सर्वसाधारण उपभोक्ता, उत्पादक वा कर्मचारी सबैलाई प्रभाव पार्छ।