१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
काठमाडौं उपत्यकामा साढे आठ महिनामा १८ सय भन्दा बडी मोटरसाइकल चोरी – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारवाग्मती प्रदेशसुरक्षा/अपराधस्थानीय तह

काठमाडौं उपत्यकामा साढे आठ महिनामा १८ सय भन्दा बडी मोटरसाइकल चोरी

काठमाडौं । काठमाडौं उपत्यकामा मोटरसाइकलको संख्या बढेसँगै चोरीका घटना पनि बढेको छ । घर तथा पार्किङ गरेको ठाउँबाट मोटरसाइकल चोरी हराउने क्रम बढ्दो क्रममा छ ।

नेपाल प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ सुरु भएयताको साढे आठ महिनाको अवधिमा काठमाडौं उपत्यकाबाट एक हजार ८४७ वटा मोटरसाइकलचोरी भएका छन् । हराएकामध्ये ३७४ वटा मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ । फेला परेका मोटरसाइकलमध्ये २९१ वटा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ भने २४ वटा आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा र १७ वटा भन्सार कार्यालयमा बुझाइएको छ ।

बाँकी ४२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाउने क्रममा छन् । चोरीमा संलग्न २९ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको प्रहरीको भनाइ छ ।

“चोरी भएका मोटरसाइकल खोजी तथा अनुसन्धान गर्न देशभरका प्रहरीलाई सक्रिय पारिएको छ । विशेष योजना र कार्यक्रमहरू तयार गरी सुक्ष्म तरिकाले निगरानी, प्रत्यक्ष अनुगमन र अनुसन्धान गर्ने गरिएकाले चोरी भएका मोटरसाइकल पत्ता लगाई सम्बन्धित धनीलाई बुझाउन सफलता मिलेको छ,” नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले भने ।

गत आर्थिक वर्ष २०७९/८० मा काठमाडौं उपत्यकाबाट एक हजार ८५० वटा मोटरसाइकलचोरी भएको थियो । तीमध्ये ५५१ वटा मोटरसाइकल प्रहरीले फेला पारेको थियो र ४९९ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको थियो । सो अवधिमा ट्राफिक प्रहरीले ३८ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष जति संख्यामा मोटरसाइकलचोरी भएका थिए त्यति नै मोटरसाइकल चालु आर्थिक वर्षको पहिलो साढे आठ महिनामा चोरी भएको प्रहरीको तथ्यांकले देखाउँछ । प्रहरीको तथ्यांकले पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकामा मोटरसाइकल चोरीका घटना बढ्दै गरेको देखाउँछ । प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ मा उपत्यकाबाट एक हजार ६०४ वटा मोटरसाइकल चोरी भएको थियो ।

उक्त वर्ष चोरी भएकामध्ये ५०६ वटा मोटरसाइकल प्रहरीले फेला पारेको थियो भने ४३४ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको थियो । सो अवधिमा ट्राफिक प्रहरीले ४५ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको थियो । चोरी नियन्त्रण गर्ने क्रममा मोटरसाइकल बढी मात्रामा चोरी हुने स्थानमा निगरानी गर्ने, शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने र कानुनी कारबाही गर्ने गरिएको प्रहरीको भनाइ छ ।

चोरी हुनबाट सचेत गराउन समय समयमा सचेतनामूलक पर्चा वितरण तथा कार्यक्रम सञ्चालन गरिँदै आइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धेरैजसो साँझ र रातको समयमा मोटरसाइकल चोरी हुने गरेको छ । “चोरी भएका सवारी साधनको विशुद्ध खोजतलास र अनुसन्धानका लागि ‘भिक्टिम सपोर्ट युनिट’ स्थापना गरिएको छ । युनिटले तत्कालै परिचालित भई के–कस्तो सवारीसाधन कहाँबाट चोरी भयो ? विगतमा कस्तो प्रकारको चोरी भएको थियो जानकारी लिई अनुसन्धान सुरू गर्छ,” काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले भने ।

छिमेकी जिल्लासँग समन्वय गर्ने तथा नाकाका युनिटहरूको साथै हरेक नियमित चेकजाँचमा शंकास्पद मोटरसाइकल र मानिसलाई चेकजाँच गर्ने गरिएको प्रहरीले जनाएको छ । “खोजतलास, निगरानी, अनुसन्धानको क्रममा फेला परेका सवारीसाधन र पक्राउ परेका मानिसलाई कानुन बमोजिम कारबाही हुन्छ,” प्रवक्ता श्रेष्ठले भने ।

प्रहरीका अनुसार चोरीका मोटरसाइकलको पाटपूर्जा खोली पुराना सक्कली मोटरसाइकलमा राख्ने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । “चोरी हुनबाट बच्न डिसलक, ब्रेकलक, फ्युललक लगाउनु राम्रो हुन्छ । सम्भव भएसम्म जीपीएस ट्रयाकरलगायत उपकरणको जडान गरी मोटरसाइकल चोरी हुनबाट सुरक्षित रहन सकिन्छ,” प्रहरी नायव महानिरीक्षक ढकालको सुझाव छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button