२४ बैशाख २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन सम्पन्न - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशपर्यटनप्रवासफिचरमनोरञ्जनमुख्य समाचारविचार दृष्टिकोणसूचना / प्रबिधिस्थानीय तह

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन सम्पन्न

भरतपुर, चितवन  । पर्यटकीय नगरी चितवनको भरतपुरमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी भ्रमण वर्ष, २०२४ को उद्घाटन गरिएको छ ।

भरतपुर महानगरपालिकाको पहलमा सुरुवात गरिएको अभियानको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवनका सांसद रवि लामिछानेलगायतले ‘घुमौँ भरतपुर’ लेखेको ब्यानरसहितको बेलुन उडाएर भ्रमण वर्षको उद्घाटन गरेका थिए ।

भरतपुर भ्रमण वर्ष २०२४
भरतपुर भ्रमण वर्ष २०२४

भ्रमण वर्षको अवधिमा दुई लाख विदेशीसहित पाँच लाख पर्यटक भित्र्याउने उद्देश्य रहेको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिइन् । उनले भ्रमण वर्षमा भित्रिने पर्यटक र उनीहरूले गर्ने खर्चका कारण महानगरको आर्थिक विकासमा ठूलो योगदान पुग्ने बताइन् । पाँच दिनसम्म भरतपुरमा घुम्न सकिने पूर्वाधार र पर्यटकीय गन्तव्य विकास गरेको उनले जानकारी दिएकी थिइन् । भ्रमण वर्षले महानगरका गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधि वृद्धि भई दिगो पर्यटनबाट समग्र चितवनकै विकासमा टेवा पुग्ने अपेक्षा राखिएको छ ।

भ्रमण वर्षलाई सफल बनाउन महानगरले सांस्कृतिक अनेकता, भौगोलिक विविधता, प्राकृतिक अवस्था, भू­बनोट आदिका आधारमा विभिन्न पर्यटकीय गन्तव्य छुट्याएको छ । भरतपुरसँग दुर्लभ वन्यजन्तु अवलोकन र पर्यापर्यटनका लागि विश्वमै चिनिएको चितवन राष्ट्रिय निकुञ्ज, दुई ठूला नदी राप्ती तथा नारायणी, सुन्दर पर्यटकीय नगरी मेघौली, गोलाघाट, पटिहानी, राइनोकुञ्ज आदि भरतपुरका प्रमुख पर्यटकीय क्षेत्र रहेको महानगरले जनाएको छ ।

भरतपुर भ्रमण वर्षलाई सफल बनाउन महानगरपालिकाको पहलमा देशका प्रमुख राजनीतिक दलका नेताहरूले उपस्थित भएर सामूहिक सन्देशसमेत दिएका छन् । भ्रमण वर्षको उद्घाटनमा उपस्थित प्रधानमन्त्री प्रचण्डले देशको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक भरतपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन महानगरपालिकाले थालेको अभियान सराहनीय भएको बताएका छन् । उनले देशका सबै प्रमुख दल र नेताहरूको राष्ट्रिय एकतासहितको सन्देशले भ्रमण वर्ष सफल बनाउन योगदान गर्ने बताए । ‘पर्यटन विकासबाट सामाजिक तथा आर्थिक परिवर्तन ल्याउन भरतपुर महानगरपालिकाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि वृद्धि गर्न, प्राकृतिक, सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्पदाहरूको प्रचारप्रसार गरी पर्यटकको संख्या र बसाइ अवधि वृद्धि गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा पहिलोपटक आयोजना गर्न लागेको यस बृहत् प्रवद्र्धनात्मक अभियान ‘भरतपुर भ्रमण वर्ष २०२४’ पर्यटन प्रवद्र्धनमा एउटा ऐतिहासिक कदम हो,’ प्रधानमन्त्री प्रचण्डले भने ।

भरतपुर भ्रमण वर्ष २०२४
भरतपुर भ्रमण वर्ष २०२४

कार्यक्रममा उपस्थित पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुरले भरतपुर देशकै पर्यटकी क्षेत्रमध्येको एक रहेको र भौगोलिक रूपले देशको केन्द्रमा रहेकाले पनि पर्यटकीय गतिविधिका लागि सहज हुने बताए । निजी क्षेत्रको सहयोगमा मुलुकको अर्थतन्त्र र पर्यटन विकासमा पूर्ण रूपले सरकार क्रियाशील हुने बताए । ‘अर्थतन्त्र र पर्यटन विकासमा पूर्ण रूपले यो सरकारले काम गर्छ । निजी क्षेत्रको सहकार्यमा पर्यटन विकासका काम हुनुपर्छ,’ उनले भने ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनलाई पर्यटन, शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन सकिने सुझाव दिएका थिए । उनले एक वर्षभित्र सपरिवार चितवन घुम्न आउने भन्दै स्वदेशी तथा विदेशी पर्यटकलाई पनि भरतपुर भ्रमण गरी लाभ लिन आग्रह गरेका छन् । ‘आगामी एक वर्षभित्र म सपरिवार चितवन भ्रमणमा आउनेछु । म यहाँबाट भरतपुर घुम्न आउन अनुरोध गर्छु । गीतै छ नि, ‘लौँ हिँड चितवन दुई दिनको जिन्दगी बिताउन…’ उनले भने ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भरतपुरलाई अन्तर्राष्ट्रिय पर्यटकको थलो बनाउन सकिने बताएका थिए । ‘मध्य नेपालको महत्वपूर्ण थलो भरतपुर धेरै हिसाबले महत्वपूर्ण छ । यसलाई अन्तर्राष्ट्रिय पर्यटकको थलोसमेत बनाउन सकिन्छ,’ उनले भने, ‘भरतपुरलाई पर्यटनसँगै शिक्षा, स्वास्थ्यलगायत हबका रूपमा विकास गर्न सकिन्छ ।’ पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले चितवन सभ्यता र सम्भावना बोकेको उपत्यका भएको बताए । ‘पर्यटनको विकासले कृषिलाई उछिन्न सक्छ । रेमिट्यान्सलाई पर्यटनले जित्न सक्छ,’ उनले भने । भ्रमण वर्षको उद्घाटन कार्यक्रममा भरतपुर महानगरपालिकाले गत १७ कात्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपीडितका लागि एक करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker