रिगललाई पुनः जेल चलानको माग गर्दै माइतीघरमा आन्दोलन

काठमाडौँ । महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट आम माफी पाएका योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै आन्दोलन गरेका छन्।
बुधबार महिला अधिकारकर्मीहरूले आममाफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। उनलाई कैद मिनाह दिइएको भन्दै मृतककी पत्नी भारती मानन्धर माइतीघर मा अनसनरत छिन्।
उनीहरुले चेतन मानन्धरको आत्मालाई शान्ति दिन माग गर्दै शान्तिपूर्ण खबरदारी विरोध र्याली गरेका छन्।
नेपालगन्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका योगराज ढकाल (रिगल) लाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाह गरेको थियो।
रिगल २०७२ असार २८ मा नेपालगन्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए। रिगल विरुद्धको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाऊ आदेश जारी गरिसकेको छ।
आन्दोलनमा उत्रिएका महिला अधिकारकर्मी अञ्जु केसी श्रेष्ठले यो घटना संविधानको धज्जी उडाएको बताइन्। उनले दिनदहाडै हत्या गरेको सजया सरकारले आममाफी दिनु भनेको अपराध भएको जिकिर गरिन्।
त्यस्तै अर्की आन्दोलनकर्मी कल्पना बस्नेतले भारतीले न्याय पाउनुपर्ने र महिलामाथि हिंसा गर्नु नहुने बताइन्। उनले आममाफी दिनेकाम फिर्ता गर्नुपर्ने बताए। सरकारले महिलामाथि नै आक्रमण गरेको बताइन्।
आन्दोलनकर्मीहरुले विधिको शासन पालन गर्, हाम्रो जीवनको रक्षा गर सरकार, अपराधीलाई सम्मान गर्न बन्द गर्, जघन्य अपराधी रिगललाई जेल चलान गर् लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए।