३१ भाद्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
चितवन राष्ट्रिय निकुञ्जमा अब सहजै बाघ देख्न पाइने : भरतपुर भ्रमण वर्ष २०२४
Banner NewsBanner news (with photo)ताजा समाचारदेशपर्यटनप्रवासफिचरमनोरञ्जनमुख्य समाचारसफलताको कथासुरक्षा/अपराधस्थानीय तह

चितवन राष्ट्रिय निकुञ्जमा अब सहजै बाघ देख्न पाइने : भरतपुर भ्रमण वर्ष २०२४

चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ तर भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन् । अबभने भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न पाइने भएको छ र सो अवसर भरतपुर भ्रमण वर्षले दिन लागेको हो ।

निकुञ्जभित्र एक सय २८ वयश्क पाटेबाघ रहेको तथ्याङ्क छ । यद्यपि निकै कमले मात्रै निकुञ्ज घुम्दै गर्दा बाघ देख्न पाउँछन् । गतवर्ष निकुञ्जमा दुई लाख २५ हजार हाराहारी पर्यटक पस्दा बाघ देखेँ भन्नेको सङ्ख्या निकै कम थियो । बाघ हेर्ने अवसर भरतपुर भ्रमण वर्षले दिन लागेको हो ।

भरतपुर महानगरपालिका–६ देवनगरस्थित निकुञ्जको रेञ्जपोष्ट क्षेत्रमा दक्षिणकाली सामुदायिक वनभित्र वन्यजन्तु उद्धार केन्द्रमा बाघ देखाउन लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सकेसम्म सन् २०२४ जनवरी १ तारिखबाट नै पर्यटकका लागि बाघ देखाउने तयारी गरिएको छ । बन्दै गरेको खोर र मचान सम्पन्न गर्न दुई चार दिन ढिलो भए पनि पुस महिनाभित्र नै बाघ देखाउने तयारी छ ।

उहाँले भन्नुभयो “अब यहाँ आउने पर्यटकलाई बाघ हेर्न धेरै दिन कुर्नुपर्दैन ।” निकुञ्जले रु ५० लाखमा बाघका लागि पक्की खोर बनाउँदै छ । भरतपुर महानगरपालिकाले अर्को रु ५० लाख थप गरेर सडक र दुई मचान घर बनाउँदै छ । बीस हजारी ताल व्यवस्थापन बोर्डले टिकट काटेर बाघ देखाउने व्यवस्थापन हेर्दैछ । टिकटकबाट उठेको पैसाले बाघको पालनपोषण गरिने छ ।

निकुञ्जको कसरामा चार वटा र सौराहामा दुई वटा हिंस्रक बाघ छन् । तिनैमध्येका एक वा थप नियन्त्रणमा लिनुपर्ने अवस्था आएमा अर्को बाघ खोरमा राखेर देखाइदैछ । त्यही उद्धार केन्द्रमा गैँडा, हात्ती, लगायतका वन्यजन्तु उद्धार गरेर ल्याइदै छ । तिनीहरुको संरक्षणसँगै पर्यटकका लागि गन्तव्य बनाउन लागिएको हो ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षमा यहाँ आउने पर्यटकका लागि दुर्लभ पाटे बाघ देखाउन लागिएको बताउनुभयो । महानगरको अनुरोधमा निकुञ्जले बाघ हेर्ने व्यवस्था मिलाउन लागेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “वन्यजन्तु उद्धार केन्द्रमा हेर्नका लागि मचान र पुग्नका लागि सडकको व्यवस्थापन महानगरले गरिरहेको छ ।”भरतपुर महानगरपालिकाको धेरै भागले निकुञ्ज छुने गर्दछ । यहाँको कसरा र मेघौलीबाट निकुञ्ज प्रवेश गर्न सकिन्छ ।

पर्यापर्यटनका हिसाबले निकै महत्वपूर्ण भएर पनि आवश्यक प्रचार नहुँदा पछि परेको महसुस गर्दै भ्रमण वर्षको आयोजना गरेको हो । महानगरको निकुञ्जसँगैको राप्ती नदी तटीय क्षेत्रमा पर्यटकीय सुविधासम्पन्न होटल छन् । शान्त र रमणीय ठाउँ भएका कारण पछिल्लो समय निकुञ्ज घुम्न आउने पर्यटक यसै क्षेत्रमा आउने गरेका छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button