सर्वोच्चद्वारा तोसिमाको पक्षमा रिट जारी, सांसद पद जोगियो

काठमाडौं । रास्वपा सांसद डा. तोसिमा कार्कीको उम्मेद्वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।
मंगलबार न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेद्वारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो ।
त्यतिबेला सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेद्वारी यथावत भएको थियो र प्रतिस्पर्धामा ललितपुर–३ बाट उनी निर्वाचित भएकी थिईन । सर्वोच्च अदालतको यो फैसलापछि उनको पद सुरक्षित बनेको छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनका क्रममा निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
उक्त रिटमाथि २०७९ कात्तिक १५ गते सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
सो आदेशपछि कार्की निर्वाचनमा सहभागी भएर विजयी समेत बनेकी थिइन् ।
त्यसको २ वर्ष ४ महिनापछि उक्त रिटको अन्तिम किनारा लागेको हो । सर्वोच्चले निवेदनको माग बमोजिम रिट जारी गरिदिएको हो ।