१ करोड धरौटी खारेजीको माग गर्दै रवि लामिछाने पुगे बुटवल उच्च अदालत

चितवन। जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी प्रकरणमा आफूसँग मागेको १ करोड धरौटी खारेजको माग लिएर पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने उच्च अदालत बुटवल पुगेका छन् ।
रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा मुद्दा खेपिरहेका सभापति लामिछाने आफूसँग मागिएको १ करोड धरौटी खारेजी र साधारण तारेखमा छाड्न माग गर्दै उनी आज (सोमबार) उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन् ।
सुप्रिम सहकारी ठगीमा माग भएको धरौटी आफूलाई चित्त नबुझेको र साधारण तारेखमा रिहा हुनुपर्ने आशयको माग राखेर लामिछानेले निवेदन दर्ता गराएको बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकाारी दिए ।
लामिछाने जिल्ला अदालत रुपन्देहीबाट माघ १३ गते १ करोड धरौटी तिरेर रिहा भएका थिए । त्यसअघि कास्कीमा ६५ लाख र काठमाडौंबाट ६० लाख र चितवनमा ५४ लाख धरौटी तिरेर रिहा भएका थिए ।
‘दुवै पक्ष जिल्ला अदालतले गरेको आदेशलाई चित्त नबुझेर आएपछि ७३ नम्बर कानुनअनुसार अघि बढाइने गरिन्छ, आज रवि लामिछाने जिल्लाले मागेको धरौटी खारेजीको माग गर्दै आउनुभयो भने यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले उलाई थुनामै राख्न माग गर्दै आइसकेको छ अब आज दर्ता भएपछि भोलि नै पेशी जान्छ’, उनले भने ।