महिलाको हत्या गरी बोरामा पोको पारेर खोलामा शव, ५ जना पक्राउ

काठमाडौँ। काठमाडौँमा करिव ३५ वर्षीया महिलाको हत्या गरी बोराभित्र शब पोको पारेर खोलामा फ्यालेको आरोपमा प्रहरी ५ जनालाई पक्राउ गरेको छ।
हत्या आरोपमा सर्लाहीको बागमती ढुंगेखोला घर भई कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भई सोही वडामा बस्ने २० वर्षीय सुरेश तामाङ, नुवाकोट मेघाङ ४ घर भई सोही वडामा बस्ने २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भई गोकर्णेश्वर बस्ने २० वर्षीया पूजा परियार पक्राउ परेका छन्।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म एक नाबालकसहित ६ जनालाई पक्राउ गरेको छ ।
पाँचै जनालाई आईतबार प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको हो। हत्या भएकी महिलाको सनाखत भएको छैन।
शनिबार दिउँसो करिब १२ बजे गोकर्णेश्वर नगरपालिका–७, नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा डुबेको अवस्थामा करिव ३५ वर्षीया महिलाको शव फेला परेको थियो।
पक्राउ परेकाहरू ज्याला मजदुरी गर्नेहरू रहेको प्रहरीले जनाएको छ । महांकाल, बौद्ध, जोरपाटी, नारायणटार लगायत क्षेत्रमा उनीहरू ज्याला मजदुरी गर्ने गरेको प्रहरीको भनाइ छ ।
मृत फेला परेकी युवती र हाल पक्राउ परेर हिरासतमा रहेकी पूजा भने होटलमा भाँडा माझ्ने काम गर्ने र भाँडा माझेबापत पाएको रकम नसकिएसम्म काम नगर्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) अपिलराज बोहोराका अनुसार अनुसन्धानको क्रममा महिलाको हत्या भएको खुलेको र उनीहरुको संलग्नता देखिएपछि पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
यता मृत भेटिएकी युवतीको सनाखत समेत हुन सकेको छैन । पक्राउ परेकाहरूले ओखलढुंगा घर बताउने गरेको भने पनि मृत महिलाको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरी वृत्त बौद्धका डीएसपी जयश्वर रिमाल बताउँछन् ।