सोविता गौतम : राष्ट्रिय दलका युवाले गाँजा र रक्सीको नशामा दुर्व्यवहार गरे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले निर्वाचन क्षेत्रमा जाँदा हिजो आफूमाथि दुर्व्यवहार भएको गुनासो गरेकी छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै आइतबार साँझ काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-६ मा आफूमाथि कुनै राष्ट्रिय दलको जिम्मेवारीमै रहेका व्यक्तिहरूले दुर्व्यवहार गरेको बताइन् ।
यद्यपि, उनले कुन दलको को भन्ने खुलाइनन् ।पहिरो हेरेर साँझपख कागेश्वरी मनोहरा नगरपालिका–६ मनकामना टोलमा पुगेर फर्किँदा १५/२० जना युवाले आफूलाई घेरेर चर्को स्वरमा कराएको र फोहोर शब्दहरु बोलेको भन्दै यसले आफूलाई सुरक्षा चुनौती भएको बताइन् ।
उनले अगाडि भनिन्, ‘तपाईंहरु बुढो मान्छेले बोलाएको ठाउँमा मात्रै जाने भनेर एकाएक घेरेर प्रश्न गर्न थाल्नुभयो । चक्रब्युह जस्तो रचियो, उहाँहरुले चर्को, चर्को स्वरमा तथानाम मुख छाडेर फोहोरी शब्दहरु प्रयोग गरेर मलाई घेर्नेक्रम सुरु भयो ।’
त्यसबेला आफूले आफ्नो कुरा नम्र शैलीमा राख्न अनुरोध गर्दा ‘तँ को होस्, तैँले निर्वाचन क्षेत्रभित्र के गरिस् ?’ जस्ता प्रश्न गरिएको सांसद गौतमले बताइन् ।
उनले आफूलाई यो हर्कतको जिम्मा ती युवा आवद्ध राष्ट्रिय दलले लिन्छ कि लिँदैन ? भनेर सरकारको ध्यानाकर्षण गराएकी छन् ।