प्रधानमन्त्रीबाट राजीनामा दिंदै हसिनाले बंगलादेश छाडेर भारत पुगिन
चितवन। बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएकी छिन् । ढाकास्थित संवाददातालाई उद्धृत गर्दै बीबीसी विश्व सेवाले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको पुष्टि गरेको छ । प्रधानमन्त्री हसिनाले बंगलादेश छाडिसकेको समेत एक अर्को रिपोर्टमा उल्लेख गरिएको छ । यसअघि सुरक्षाका लागि भन्दै प्रधानमन्त्री हसिनासहित बहिनी शेख रेहानाले सरकारी निवास गणभवन छाडिसकेको समाचार सार्वजनिक भएको थियो ।
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना भारत पुगेकी छन् । हसिना चढेको जहाज भारतीय वायु सेनाको हिन्डनस्थित अड्डामा अवतरण भएको भारतीय समाचार संस्थाले जनाएका छन् ।
सोमबार बिहान सुरक्षा खतरा भएपछि हसिनाले राजीनामा दिएर बंगलादेश छाडेकी थिइन् । उनी सेनाको सी–१३० एयरक्राफ्ट, एजेएएक्स १४३१ कलसाइन भएको जहाज चढेर भारत आइपुगेकी हुन् । सोमबार साँझ ५ः३६ बजे उनी चढेको जहाज अवतरण भएको इण्डिया टुडेले समाचारमा लेखेको छ ।
यता गणभवन पुगेका प्रदर्शनकारीले विजय उत्सव मनाइरहेका छन् । बंगलादेशी टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले प्रधानमन्त्री निवासमा भिड जम्मा भएको जानकारी दिएको हो । उनीहरूले क्यामेराअघि उभिएर विजयीभावमा उत्सव समेत मनाएको दृश्य टेलिभिजनले प्रशारण गरेको समाचारमा उल्लेख छ ।
बंगलादेशको सेनाको जहाज पटना हुँदै नयाँ दिल्ली नजिकै रहेको भारतीय वायु सेनाको अड्डामा अवतरण गरेको हो । त्यहाँ भारतीय एयर अफिसर कमान्डिङ सन्जय चोपडाले स्वागत गरेका थिए । हसिना भारतबाट बेलायत जाने सम्भावना छ । यद्यपि कहिले जाने भन्ने यकिन भइसकेको छैन ।
सोमबार हसिनाले १५ वर्षे सत्ता छाडेसँगै प्रदर्शनकारीहरूले खुशीयाली मनाएका छन् । प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । हसिना सन् २००९ देखि सत्तामा थिइन् । १५ वर्षे सत्तामा चलाएकी उनीमाथि शक्तिको दुरूपयोग गरेको आरोप लाग्दै आएको थियो । उनले आफ्ना विपक्षी दलका नेताहरूविरूद्ध शक्तिको दुरूपयोग गरेको आरोप छ । ७६ वर्षीय हसिनाले चार पटक लगातार चुनाव जितेकी छन् ।
आइतबारदेखि बंगलादेशमा पुनः आन्दोलन चर्किएको हो । केही दिन मत्थर भएको सरकारविरोधी आन्दोलन पुनः चर्किएको हो । आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९६ जनाको मृत्यु भएको ढाका ट्रिब्युनले जनाएको छ । ‘विभेदविरोधी विद्यार्थी आन्दोलन’ को ब्यानरमा भएको प्रदर्शनका क्रममा ठाउँ–ठाउँमा सुरक्षाकर्मीसँग झडप भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।
सोमबार कम्तीमा पनि चार लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ढाकामा सोमबार मात्र प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ । राजधानी ढाकामा गाउँगाउँबाट समेत प्रदर्शनका लागि मानिसहरू आएको समाचारमा उल्लेख छ ।
विद्यार्थीहरूले मृतकका परिवारलाई क्षतपूर्ति दिनुपर्ने, घाइते विद्यार्थीको सरकारले उपचार गरिदिनुपर्ने लगायका माग राख्दै आन्दोलनलाई निरन्तरता दिए । विद्यार्थीको आन्दोलनलाई प्रधानमन्त्री हसिनाले सुरूवातदेखि नै बेवास्ता गर्दै आएकी थिइन् । उनले सेना लगाएरै विद्यार्थीहरूको आन्दोलनलाई दबाउने कोशिस गरेकी थिइन् । सर्वोच्चको आदेशले उनको निर्णयलाई उल्ट्याइदिए पनि आन्दोलनबाट भएको क्षति र त्यसलाई परिपूर्ति गर्नेबारे चासो नदेखाएपछि विद्यार्थीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरेका थिए ।
उनीहरूले देशभरका नागरिकलाई सरकारलाई कर नबुझाउन आह्वान समेत गरिरहेका छन् । विद्यार्थीहरूको आन्दोलनमा समाजका अन्य तप्काका मानिसहरू पनि जोडिएकाले आन्दोलत थप बृहत बन्दै गएको बताइएको छ । उनीहरूको आन्दोलनामा अहिले विपक्षी दलसहित भुतपूर्व सैनिकहरू र नागरिकहरू पनि जोडिएका छन् । बंगलादेशमा हिंसा बढेपछि भारतले त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई सकेसम्म घर बाहिर ननिस्कन र सतर्क रहन आग्रह गरेको छ ।