धनुषामा २१ जोडीको दाइजोमुक्त र अन्तरजातीय सामूहिक विवाह सम्पन्न
धनुषा। धनुषा जिल्लाको मिथिला नगरपालिकामा २१ जोडीको दाइजोमुक्त र अन्तरजातीय सामूहिक विवाह भएको छ ।
मिथिला नगरपालिका–२ बेलाचापीस्थित शन्त रामपालको सतलोक आश्रममा ६२७औं प्रकट दिवसको अवसरमा शुक्रबार २१ जोडीको सामूहिक विवाह सम्पन्न भएको हो ।
गुगुरुवाणीद्वारा २३ करोड देवीदेवताको स्तुति गर्दै रमैणी मन्त्र उच्चारण गरी १७ मिनेटमा सामूहिक विवाह सम्पन्न गराइएको सन्त रामपालका अनुयायी ईश्वरदत्त भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न महोत्सवमा यहाँ सामूहिक तथा दाइजोमुक्त विवाह हुने गरेको छ । कबिर जयन्तीका अवसरमा उहाँको सम्झनामा प्रत्येक वर्ष मनाइने ‘कबिर परमेश्वर प्रकट दिवस’ आज यहाँ विविध कार्यक्रम गरी भव्यताका साथ मनाइँदै छ । सन्त रामपालजी महाराजका अनुयायीद्वारा यही असार ६ गतेदेखि ८ गतेसम्म तीन दिवसीय अखण्ड पाठ तथा भण्डारा कार्यक्रम आयोजना गरिएको थियो ।
असार ६ गते पाठ प्रकाश गरी भण्डाराको प्रारम्भ गरिएको भट्टले बताए । उनका अनुसार दोस्रो दिन दाइजोमुक्त सामूहिक विवाहलगायत विभिन्न किसिमका समाज सुधारका कार्यक्रम भएका छन् । अनुयायीहरुले दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा रक्तदान गरेका छन् ।
यसअघि पनि विभिन्न महोत्सवमा यहाँ सामूहिक तथा दाइजोमुक्त विवाह हुने गरेको छ ।
यस वर्ष पनि कवीर साहेबको सशरीर प्राकट दिवस तीन दिवसीय रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।