चितवनको खोलेसिमलमा सुन पसलबाट ३ किलो सुन र ३५ केजी चाँदी लुटपाट
रत्ननगर, चितवन। पूर्वी चितवनको कालिका नगरपालिका ६ स्थित खोलेसिमल बजारमा हिजो राती हतियार देखाएर सुनचाँदी पसलमा लुटपाट भएको छ ।
खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसलमा राति ८: ४० बजे हतियार सहित २ जनाको अज्ञात समूहले पेस्तोल देखाएर लुटपाट गरेको बताइएको छ ।
पसलको सटर लगाउने क्रममा मौका छोपेर कामदारहरुलाई भित्रै थुनी पेस्तोल देखाएर सो समूहले सुनका गरगहना लुटपाट गरेको प्रहरी स्रोतले बताएको छ । लुटेरा समूहले सुन पसलमा जडान गरिएको सिसिटिभी रेकर्ड हुने डिभाइससमेत चोरेर लगेको प्रहरीले जनाएको छ ।
पसलबाट ३ केजी सुन (लगभग २५७ तोला), ३५ केजी चाँदी, र नगद २ लाख रुपैंया चोरी भएको छ । चोरी भएको भनिएको मध्येको ७७६.८१ ग्राम सुन पसलमै फेला परेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा अनुमानित ४ करोड बराबरको गरगहना चोरि भएको अनुमान गरिएको छ।
हरेक महिनाको १ गते खोलेसिमल बजार बन्द हुने गरेको छ । शनिबार सुनचाँदी पसल भने खुला थियो । पसल बन्द गर्ने समय पारेर लुटपाट गरिएको हुनसक्ने प्रहरीले जनाएको छ । पसल लुटपाट गर्ने समयमा संचालक नरहेको र कामदारमात्र रहेको जनाइएको छ ।
उक्त चोरीमा संलग्नहुनेहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । थप रिपोर्ट आउन बाकी।