११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कुल मुद्दाको ४६ प्रतिशत बैंकिङ कसुरका मुद्दा, चेक सुरक्षित राख्नुहोस, नत्र जेल परिएला
Banner NewsBanner news (with photo)अर्थव्यवस्थाताजा समाचारदेशप्राविधिक समाचारबिचित्रमुख्य समाचारविचार दृष्टिकोणसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तह

कुल मुद्दाको ४६ प्रतिशत बैंकिङ कसुरका मुद्दा, चेक सुरक्षित राख्नुहोस, नत्र जेल परिएला

काठमाडौँ । केही दिन अघि हरिस भण्डारी र रितेश घिमिरे (नाम परिवर्तन)को नाममा बैंकिङ कसुर (चेक बाउन्स)को मुद्दा बोकेर प्रहरीकोमा हरि अर्याल (नाम परिवर्तन) आए। Nepal Himalayas Tours and Travel

उनको नाममा करिब ६ लाखको चेक काटिएको थियो। प्रहरीले घिमिरे र भण्डारी दुवैलाई सम्पर्क गरेर प्रहरीमा हाजिर हुन भन्यो। साझेदार रहेका घिमिरे र भण्डारीमध्ये घिमिरेले खाली चेकमा हस्ताक्षर गरेर भण्डारीलाई दिएका थिए। बैंकमा पैसा नभए पनि भण्डारीले ६ लाखको चेक काटेर अर्याललाई दिए। बैंकमा चेक नसाटिएपछि अर्यालले प्रहरीमा उजुरी दिए।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी दिनेशराज मैनालीले बढ्दो अविश्वासका कारण यस्ता उजुरी आउने गरेको बताउँछन्।  उनी आफूलाई रकमको आवश्यकता पर्‍यो भन्दैमा जति पनि ब्याज तिर्नेगरी चेक त हो नि रकम होइन भनी आर्थिक लेनदेन नगर्न पनि आग्रह गर्छन्। उनले कसैले आर्थिक अवस्था मिलाउनु पर्‍यो भनी अनुरोध गरेको खण्डमा जमानीका रूपमा बसी खाली चेक दिने कार्य गर्दा मान्छेहरू फस्न सक्ने सम्भावना पनि बढिरहेको बताए। उनले एउटै कारोबारलाई मिलाउन पुरानो चेक फिर्ता नलिई पुनः नयाँ चेक जारी नगर्न पनि आग्रह गरेका छन्।

कुल मुद्दाको ४६ प्रतिशत बैंकिङ कसुरका मुद्दा

कार्यालयले दिएको तथ्यांकअनुसार काठमाडौँ उपत्यकाको तथ्यांक हेर्दा ८०/८१ मा मात्र करिब १३ हजार ३१० मुद्दा दर्ता हुँदा ६ हजार ४७ वटा बैंकिङ कसुरका थिए। यस्तै, ७९/८० मा १६ हजार ३२२ वटा कुल मुद्दामध्ये ८ हजार २५१ मुद्दा बैंकिङ कसुरका छन्। आव ७८/ ७९ मा १० हजार ८०३ मुद्दामध्ये बैंकिङ कसुरका ४ हजार १४४ मुद्दा छन्।

कार्यालयका प्रवक्ता मैनाली कोरोनाकालपछि उपत्यकामा बैंकिङ कसुरका मुद्दाहरूमा बढोत्तरी भएको बताउँछन्। उनका अनुसार कुनै पनि बैंकको चेक काटेपछि ६ महिनासम्ममा रकम निकाल्नुपर्ने प्रावधान रहेको छ। यदि चेक बाउन्सको मुद्दा दर्ता एक वर्षसम्म हुने व्यवस्था रहेको छ।

प्रहरीमा कुनै पनि बैंकिङ कसुरका मुद्दा आयो भने पहिलो एक साता मिलापत्रका लागि आह्वान गरिने मैनालीले जानकारी दिए। ‘यदी एक हप्तासम्म पनि कुनै मिलापत्र नभएको खण्डमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता हुने प्रावधान रहेको छ। प्रहरीले अनुसन्धान सुरू गर्छ’, उनले भने।

उनले पैसा दिनुपर्ने होइन चेक त दिने त हो भनेर जथाभावी चेक जारी नगर्न पनि अनुरोध गरेका छन्। यसरी चेक जारी गर्दा अनुसन्धान र सजायको भागिदार हुने सम्भावना बढी रहेको बताए।

देशभरको अवस्था

प्रहरीको तथ्यांकअनुसार गत वर्ष देशभर कुल ४५ हजार ७७५ मुद्दा दर्ता भएका थिए। जसमा सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएको प्रहरीको अभिलेखमा रहेको छ। जसमा बैंकिङ कसुरका १३ हजार २७७ मुद्दा रहेका छन्।

त्यस्तै, सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरमा १० हजार ८६३, आमहत्याका ७ हजार १९४, लागुऔषधका ४ हजार २८४, चोरीका ३ हजार ७२५, जबरजस्ती करणीका २ हजार ४६८, ठगीका १ हजार ६६०, ज्यान मार्ने उद्योगमा १ हजार ४५, बहुविवाहका ७२४ र सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५३५ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

प्रवक्ता मैनालीका अनुसार बैंकिङ कसुरबाट सुरक्षित हुन केही उपायसमेत सुझाएका छन्।

‘नागरिकताको प्रमाण–पत्र, राहदानी, सवारी चालक अनुमति–पत्र आदिलाई सुरक्षित राखौँ’, उनले भने, ‘आफ्नो चेकबुक, वन टाइम पासवर्ड (ओटीपी)लाई सुरक्षित गरौँ।’

बैंकिङ कारोबार गर्दा याद गर्नु पर्ने कुराहरु :

  • – खातामा रकम नभएको अवस्थामा चेक काटी अन्य व्यक्तिलाई दिने कार्य नगरौँ।
  • – चेक हराएको तथा अन्य कोही कसैबाट दुरुपयोग भएको जानकारी हुनासाथ सम्बन्धित बैंक र नजिकको प्रहरी कार्यालयमा सूचना गर्नेगरौँ।
  • -खाली चेकमा हस्ताक्षर गरी कोही कसैलाई पनि नदिऔँ  र एटीएम र त्येसको पासवर्ड सुरक्षित राखौँ।
  • -संयुक्त रूपमा सञ्चालन भएको खातामा साझेदारद्वारा खाली चेकमा हस्ताक्षर गरी छाड्ने कार्य नगरौँ।
  • -आफ्नो बैंक खाता सकेसम्म शेयर नगरौँ।
  • -आफ्नो नरहेको रकम खातामा आएको खण्डमा तुरुन्तै खाता रहेको बैंक तथा नजिकको प्रहरी कार्यालयमा सूचना दिई अनुसन्धान कार्यमा सहयोग गरौँ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button