७ असार २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
पूर्व बैंकर परशुराम कुँवर क्षेत्री : बैंक डुब्दैमा बचाउनु पर्दैन - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थतन्त्रताजा समाचारदेशबिचारराजनीतिविचार दृष्टिकोण

पूर्व बैंकर परशुराम कुँवर क्षेत्री : बैंक डुब्दैमा बचाउनु पर्दैन

भारतीय रिजर्भ बैंक का तत्कालीन गभर्नर रघुराम राजन र प्राध्यापक लुइजी जिंगल्सले संयुक्तरूपमा हालै एउटा लेख लेखेका छन्, “कम जोखिमयुक्त पुँजीवाद (रिस्कलेस क्यापिटालिज्म)”।यो लेखको मुख्य आशय भने ‘हरेक व्यवसाय असफल हुन दिनुपर्छ’ भन्ने हो। हरेक प्रकृतिका व्यवसाय संकटमा पर्दा नियामकले जोगाउन कष्ट गर्नुहुँदैन।

अहिले नेपाली बैंकिङ क्षेत्र प्रतिस्पर्धाविहीन छ। प्रडक्टहरू समान, ब्याज समान, शुल्क समान, मूल्य पनि समान। त्यतिमात्र नभई, नेपाल बैंकर्स संघले ब्याजदरमा बेलाबेला अनेकखाले क्रियाकलाप गरिरहेको छ। यसबाट पनि देखिन्छ कि बैंकहरू एकापसमा प्रतिस्पर्धा गर्न चाहँदैनन्। कुनै समय बैंकर्स संघले अर्थतन्त्र जोगाउन ब्याजमा एकरूपता ल्याएको बताउने गरेको थियो। अब त्यो ‘कार्टेलिङ’ का रूपमा विकास भइसकेको छ।

बजार एकदमै तातेका बेला अर्थतन्त्र थप संकटमा जान्छ भनेर केही समयका लागि गर्नु ठिकै हो। सबैलाई स्वीकार्य पनि हुन्छ। तर, अब नियम बनिसकेको छ। अहिले बैंक हरू सँग ३ खर्ब हाराहारी ऋण दिने क्षमता छ।

तरलता (लगानीयोग्य रकम) फालाफालको स्थिति छ। यस्तो बेला पनि ब्याजदर बढाउने, स्थिर राख्ने र नघटाउने, एउटै ब्याजदर राख्ने प्रवृत्ति कायमै छ। बचत तथा मुद्दतीको ब्याजदर सबै बैंकमा एउटै छ। यो अलिकति सुहाएको छैन। ब्याजदर र सेवाशुल्क बैंकअनुसार छुट्टाछुट्टै हुँदा पो प्रतिस्पर्धी वातावरण बन्न सक्छ। नियामकको हस्तक्षेपबिना बैंकहरू आफैं यो बाटोमा लाग्छन् जस्तो देखिँदैन।

जुन किसिमले केन्द्रीय बैंकले शुल्क निर्धारण गरेको छ, त्यो पनि गलत छ। प्रतिस्पर्धात्मक तरिकाबाट शुल्क निर्धारण हुनुपर्छ। आपसी सरसल्लाह गरेर यतिभन्दा बढी नलिने भन्ने बनाउन हुँदैन। प्रतिस्पर्धामार्फत सेवा तय हुनुपर्छ।

अग्रसर बैंकिङ कि नियमन

हिजो नेपालका बैंकहरू फुच्चा थिए। छिमेकी देशको तुलनामा सारै सानो बैंकभित्र पथ्र्यौं। पुँजीका आधारमा अहिले केही बैंक ठूला भइसके। हामी आफूलाई ठूलो बैंकका रूपमा सोच्ने हो भने ऊ एउटा ठूलो व्यावसायिक घराना हो। यति ठूलो व्यावसायिक संस्थाले देशको कुन समस्या समाधान गर्दैन र! बैंक ठूला भइसकेपछि ठूलैरूपमा सोच्नुपर्छ। सुदूरपश्चिम पछाडि परेको प्रदेशभित्र पर्छ। अब हाम्रा बैंकहरूले सुदूरपश्चिमलाई आगामी पाँच वर्षमा आर्थिक हिसाबले यो ठाउँमा पुर्‍याउँछु भनेर अघि बढ्नुपर्छ, त्यसका लागि केन्द्रीय बैंकले बाधिँरहनुपर्दैन।

किसानलाई कुनै बैंकले ऋण दिँदैछ। किसानलाई हरेक महिना ऋण तिर भनेर उसले तिर्न सक्दैन। उसले गरेको खेती तयार हुन ६ महिना लाग्छ भने उसले कसरी एक–एक महिनामा ऋण तिर्न सक्छ। त्यसमा केन्द्रीय बैंकले सहजीकरण गरिदिनुपर्छ। राजमार्ग बनाएपछि गाडी चलाउने कि गाडी जेनतेन चलाउँदै गएर राजमार्ग बनाउन सरकारलाई दबाब दिने? गाडी चलाउँदै जाने हो, सरकारलाई राजमार्ग बनाउन दबाब दिँदै जाने हो।

विप्रेषण (रेमिट्यान्स) आप्रवाहको अनुमति नआउँदै रेमिट्यान्स आउने क्रम सुरु भएको थियो। वालेटको लाइसेन्स नदिँदै वालेट चलिरहेका थिए। पछि कानुन बनाएर नियमन गरिएको होइन र? यसको अर्थ गाडी पहिला चल्यो, हाइवे पछि आयो। बैंकहरूले नयाँ–नयाँ काम गर्न थालेपछि नियमनकारी निकाय पनि त्यही अनुसार अग्रसर हुन्छ। ठूला भनिएका बैंकले आफ्नो व्यावसायिक शैली परिवर्तन गर्न आवश्यक छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button