दुई सय हात्ती मारेर मासु बाँड्न जिम्बाब्वे सरकारको अनुमति
जिम्बावेले दुई सय वटा हात्ती मारेर भोकमरीबाट पीडित नागरिकलाई मासु वितरण गर्ने भएको छ ।
चार दशकको सबैभन्दा खराब खडेरीपछि तीव्र भोकमरीको सामना गरिरहेका समुदायलाई खुवाउन दुई सय हात्ती मार्ने योजना बनाइएको जिम्बावे सरकारका मन्त्रीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
पछिल्लो चार दशकमा सबैभन्दा ठूलो खडेरीको सामना गरिरहेको जिम्बाब्वेको झण्डै आधा जनसङ्ख्या खाद्य संकटको सामना गरिरहेको छ। खडेरीका कारण देशको सम्पूर्ण बाली नष्ट भएको छ।
यस्तो अवस्थामा जिम्बाब्वेका ६ करोड ८० लाखभन्दा बढी मानिस खाद्यान्न अभावबाट ग्रसित छन्।
प्राधिकरणका प्रवक्ता फरावोले देशले अहिले ५५ हजार वटा हात्ती मात्रै धान्न सक्ने बताउनुभएको छ । एकातिर जङ्गलमा हात्तीको भीडभाड कम गर्ने र अर्कोतिर भोकमरीबाट केही राहत हुने भएकाले यो उपाय उत्तम रहेको सरकारको दाबी छ । ८४ हजार हात्तीमा दुई सय वटा मार्नु भनेको समुद्रबाट एक थोपा पानी निकाल्नु जस्तै भएको पनि फरावोको जिकिर छ ।
यससँगै खडेरीका कारण देशका नागरिक र हात्तीबीच सन्तुलन कायम गर्न कठिनाइ बढ्ने सम्भावना छ। गत वर्ष जिम्बावेमा हात्तीको आक्रमणमा ५० जनाको मृत्यु भएको थियो।
जिम्बावेले सन् १९८८ पछि पहिलोपटक जङ्गली जनावर मारेर नागरिकलाई मासु वितरणको योजना बनाएको खबरमा उल्लेख छ । गत महिना अफ्रिकी देश नामिबियामा पनि संकटबाट जुध्न ८३ वटा हात्ती मारेर त्यसको मासु वितरण गरिएको थियो।
हात्ती संरक्षणका लागि प्रसिद्ध जिम्बाब्वेले लामो समयदेखि लोपोन्मुख प्रजातिहरूमा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी संयुक्त राष्ट्र महासन्धि (CITES)बाट हात्ती र तिनका दाँत बेच्न अनुमति माग्दै आएको छ।
यो मागमा जिम्बाब्वे बाहेक बोत्सवाना र नामिबिया पनि परेका छन्। वास्तवमा, संसारमा हात्तीहरूको सबैभन्दा ठूलो जनसंख्या बोत्सवानामा बस्छ। त्यसपछि जिम्बाब्वे छ।
हात्तीको संख्या बढ्दै गएपछि यहाँको जनजीवन जोखिममा परेको छ। तिनीहरूले बाली र साना बच्चाहरूलाई कुल्चने गरेका छन्।
जिम्बाब्वेमा पाँच हजार करोडको हात्तीको दाँत छ। तर, यसको व्यापारमा प्रतिबन्ध लगाइएको छ। यस्तो अवस्थामा हात्तीको दाँत बेच्ने अनुमति पाएपछि यहाँका नागरिकले आम्दानीको अर्को माध्यम पाउन सक्छन्।
चर्को खडेरीका कारण वनजङ्गल र पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु बस्तीतर्फ आउने र मानव–वन्यजन्तु द्वन्द्व बढ्न सक्ने सम्भावना बढेको पनि खबरमा उल्लेख छ । गएको वर्ष जिम्बावेमा हात्तीको आक्रमणबाट ५० जनाको ज्यान गएको थियो ।