महिला एसिया कपमा नेपालको ऐतिहासिक जित, सम्झनाको अर्धशतक
काठमाडौँ । नेपालले महिला एसिया कपमा (टी–२० क्रिकेट) ऐतिहासिक जित निकालेको छ।
एसिया कपमा तेस्रो सहभागितामा पहिलो जित निकाल्ने क्रममा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो। नेपालको एसिया कपमा यो पहिलो जित हो ।
नेपालको सानदार जितमा ओपनर सम्झना खड्काले ७२ रनको सानदार इनिङ खेलिन्। उनी एसिया कपमा नेपालका लागि अर्धशतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बनिन्। आफ्नो करिअरको पहिलो अर्धशतकमा उनले नेपाललाई ऐतिहासिक जित दिलाउन सफल भइन्।
पहिलो खेलमा जितका लागि युएईले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य १६.१ ओभरमै ४ वकेट गुमाएर पूरा गर्यो। सम्झनाले आफ्नो इनिङमा ४५ बलको सामना गर्दै ११ चौकाको सहयोगमा ७२ रन बनाइन्। त्यस्तै, रुविना क्षेत्रीले १० रन बनाउँदा पूजा महतो ७ रनमा अविजित रहिन्। युएईका लागि कभिसा इगोडागेले ३ विकेट लिएकी थिइन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायो। युएईका लागि खुशी शर्माले सर्वाधिक ३४ रन बनाउँदा कभिसा इगोडागीले २३ रन बनाइन्। त्यस्तै, इशा ओजा र हेना होट्चान्डानीले १०–१० रन बनाउँदा समिरा धरानीधर्काले १३ रन बनाएकी थिइन्। यीबाहेक अन्य ब्याटरले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।
नेपालका लागि कप्तान इन्दु बर्माले ३ विकेट लिँदा सबनम राई र कृतिका मरासिनीले समान १ विकेट लिए। युएईका दुई खेलाडी रनआउट भएका थिए।
महिला एसिया कपमा अर्धशतक बनाउने उनी पहिलो नेपाली खेलाडी हुन् । यस्तै सम्झनाको टी-ट्वेन्टी आईमा पनि यो पहिलो अर्धशतक हो । रुबिनाले १० रन बनाइन् । योसँगै नेपालले एसिया कपमा जितविहीन यात्रामा पूर्णविराम लगाएको छ । यसअघि सन् २०१२ र २०१६ मा गरी भएका आठ खेलमा नेपाल पराजित भएको थियो । जारी प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले दुई अंक जोडेको छ । अब दोस्रो खेल आइतबार पाकिस्तानसँग खेल्नेछ ।