२७ मंसिर २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सीआईबीद्वारा पतञ्जलीको जग्गा किनबेचमा रोक लगाउन मालपोतलाई पत्राचार - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियअर्थव्यवस्थाकृषिताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तह

सीआईबीद्वारा पतञ्जलीको जग्गा किनबेचमा रोक लगाउन मालपोतलाई पत्राचार

चितवन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काभ्रेमा रहेको पतञ्जलीको जग्गा किनबेचमा रोक लगाउन मालपोत कार्यालयलाई पत्राचार गरेको छ ।

भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको थियो। हदबन्दी छुट जग्गा गैरकानुनी रूपमा बेचबिखन गरी राज्यलाई हानिनोक्सानी पुर्‍याएको आरोपमा पतञ्जली र पतञ्जलीलाई गैरकानुनी रूपमा जग्गा किनबेच गर्न अनुमति दिने सरकारी अधिकारीमाथि अख्तियारले विस्तृत अनुसन्धान थालेको छ।

Nepal Himalayas Tours and Travel

पतञ्जलीले हदबन्दी छुट जग्गा किनबेच गरेको विषयमा आन्तरिक छानबिन गरी प्रतिवेदन पेस गर्न अख्तियारले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई यसअघि निर्देशन दिएको थियो । अख्तियारको निर्देशनपछि विभागले भक्तपुरका प्रमुख मालपोत अधिकृत लोकबहादुर भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिले हदबन्दी छुट जग्गा अपचलन भएको भन्दै थप अनुसन्धान गर्नुपर्ने रायसहित प्रतिवेदन बुझाएको थियो ।

हदबन्दी छुटसम्बन्धी कानुनविपरीत पतञ्जलीले जग्गा अपचलन गरेका प्रमाणहरू बाहिरिएपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पनि यसमा छानबिन र अध्ययनका लागि भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग ७ दिनभित्र सबै कागजात उपलब्ध गराउन आइतबार निर्देशन दिएको थियो । उद्योग सञ्चालन गर्न भनेर पतञ्जलीलाई तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले डेढ दशकअघि हदबन्दी छुट दिएको जग्गामध्ये तीन सय रोपनीभन्दा बढी जग्गा अपचलन गरेको बारे कान्तिपुरले गत असार ६ गते समाचार प्रकाशन गरेको थियो । २०६६ माघ १८ मा नेपाल नेतृत्वको तत्कालीन सरकारले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालय, अनुसन्धान केन्द्र, योगशाला, आयुर्वेदिक औषधि उद्योग, जडीबुटी खेती, गाई फार्मलगायत चलाउन काभ्रेमा हदबन्दी छुटमा ८१५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो ।

पतञ्जलीको जग्गा अपचलनमा प्रतिवेदन नै गुपचुप भएको छ। त्यसलगत्तै बनेपा नगरपालिकाभित्र पर्ने साँगा, नासिकास्थान र महेन्द्र ज्योति (चलाल गणेशस्थान) मा पतञ्जलीले ५९३ रोपनीभन्दा बढी जग्गा खरिद गरेकामा अढाई महिना नबित्दै चैत ६ र २६ मा भूमिसम्बन्धी कानुन प्रतिकूल हुने गरी सरकारले मन्त्रिपरिषद्बाट निर्णय गराएर जग्गा बेच्न अनुमति दिएको हो । त्यसपछि पतञ्जलीले जग्गा बिक्री गरेको थियो । हदबन्दी छुटमा जग्गा किन्न र बिक्री गर्नर् ेनिर्णय प्रक्रियामा तत्कालीन प्रधानमन्त्री नेपाल, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ, मुख्यसचिव माधव घिमिरे (हाल दिवंगत), भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव छविराज पन्तसहित उच्च पदस्थ अधिकारी संलग्न रहेका थिए ।

हदबन्दी छुट पाएको जग्गा बिक्री गरेर अनियमितता गर्न खोजेको भन्दै सीआईबीले पतञ्जलीको जग्गाका विषयमा अनुसन्धान गरिरहेको छ । त्यस क्रममा जिल्ला मालपोत कार्यालय काभ्रेलाई पत्राचार गरेको सीआईबी स्रोतले बताएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button