आज ३३ जिल्लामा बाढी पहिरोको जोखिम, महाशाखाको सतर्क रहन आग्रह

काठमाडौं । आज (सोमबार) देशका ३३ जिल्लासहित आसपासका क्षेत्रमा बाढी आउने संभावना रहेको छ।
उक्त जिल्ला आसपासका क्षेत्रमा जोखिम रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्दै बाढी पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ।
बाढी महाशाखाले बुलेटिन जारी गर्दै देशका विभिन्न १६ जिल्लामा बाढीको मध्यम जोखिम र अन्य १७ जिल्लामा बाढीको जोखिम उच्च रहेको जानकारी दिएको हो ।
बाढी महाशाखाका अनुसार आज इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, सिन्धुली, मकवानपुर, धनुषा, महोत्तरी, सर्लाही, लमजुङ, स्याङजा, कास्की, पर्वत र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने तथा केही ससाना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना छ।
त्यसैगरी सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, गोरखा, म्याग्दी, पाल्पा, चितवन, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, बाँके, बर्दिया, कैलाली, कञ्चनपर र आसपासका जिल्ला भइ बहने स–साना नदीमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको माहशाखाले जनाएको छ । महाशाखाले ती जिल्लाका नदी तटीय क्षेत्रमा उच्च जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।