१५ जेष्ठ २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
‘पुराना पार्टी’ माथि नयाँशक्ति हावी, कांग्रेस–एमाले भित्र खैलाबैला
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिसफलताको कथास्थानीय तह

‘पुराना पार्टी’ माथि नयाँशक्ति हावी, कांग्रेस–एमाले भित्र खैलाबैला

काठमाडौं । तनहुँ, चितवन र बाराका तीन क्षेत्रको उपचुनावले दश महिनाअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नेपाली राजनीतिमा नयाँ शक्तिका रूपमा स्थापित गरिदिएको छ ।

पाँच महिनाअघि ०७९ मंसिर ४ को निर्वाचनमा राजधानी र तराईका जिल्लाहरूमा चुनाव जित्दा कांग्रेस, एमाले, माओवादीकेन्द्रजस्ता राजनीतिक दलप्रतिको नागरिकको असहमति स्वरुप गएको ‘नेगेटिभ भोट’ भन्दै हल्का विश्लेषण गर्ने दलहरूभित्र उपचुनावको परिणामपछि खैलाबैला मच्चिएको छ ।

उपनिर्वाचनको परिणामले कांग्रेस–एमाले सहितका प्रमुख दलहरूलाई फेरि एउटै डालोमा हाल्ने गरी नयाँ भाष्य निर्माण गरिदिएको छ– ‘पुराना दल’ ।

यही विशेषण ०६४ सालको संविधानसभा निर्वाचनपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सो दलका नेता–कार्यकर्ताले कांग्रेस–एमाले लाई प्रयोग गर्थे ।

नेपाली राजनीतिक क्षितिजमा जबर्जस्त उदीयमान शक्तिका रूपमा देखा परेको रास्वपाका नेताहरूले ‘पुराना दल’ भन्दा कांग्रेस–एमाले का नेता–कार्यकर्ताहरूले गालीकोरुपमा बुझ्न थालेका छन् ।

एमालेका सांसद ईश्वरबहादुर रिजालले त प्रतिनिधिसभाको बैठकमै आफूहरूलाई ‘पुराना पार्टी’ नभन्न आग्रह गरे ।

चितवनबाट रास्वपा अध्यक्ष रवि लामिछानेले चुनाव जितेकै दिन वैशाख १२ गते प्रतिनिधिसभाको बैठकमा दोलखाका समानुपातिक सांसद रिजालले भने, “मेरो पार्टीले इतिहासमा केही कमजोरी गरेको छ भने एक्लै त्यसको जवाफदेही व्यहोर्न तयार छ तर इतिहासमा अरुले गरेका नराम्रा कामसँग मिसाएर हाम्रो दललाई पुरानो दल भन्ने भाष्य खडा नगरियोस् । त्यसरी नबुझियोस् ।”

कांग्रेस कमजोर, एमाले सबैतिर तेस्रो 

उपनिर्वाचनमा एमाले र रास्वपा तीनैक्षेत्रमा एक्लै लडेको थियो । कांग्रेस, माओवादी केन्द्र, राजपा, नेकपा (एस), लोसपा र जनमोर्चाले गठबन्धन बनाएर उमेदवारी दिएका थिए ।

तनहुँ–१ मा कांग्रेस छाडेर रास्वपाको उमेदवार बनेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले अनुमान गरिएभन्दा भारी मतसहित विजयी भए ।

वाग्लेले ३४ हजार ९१८ मत पाउँदा कांग्रेसका उमेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत मात्र ल्याए । वाग्लेले १४ हजार ७९६ भोटले जिते ।

कांग्रेसमा ‘दाइ–भाउजू गिरोह’ हावी भएको आरोप लगाएर सो पार्टी परित्याग गरी चुनाव उठेका उनलाई पराजित गरी आफ्नो उमेदवार जिताउन कांग्र्रेसले सकेसम्मको तागत लगाएको थियो तर पाँच महिनाअघि कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याएर जितेका थिए ।

त्यसबेला उनका निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले १९ हजार ९८१ भोट पाएका थिए ।

उक्त क्षेत्रबाट जितेका पौडेल राष्ट्रपति भएपछि उपचुनाव भएको थियो तर कांग्रेसले आफ्ना उमेदवार जिताउन महामन्त्री गगन थापा खटाए पनि भोट घटाएको छ ।

अघिल्लो चुनावमा कांग्रेसको समानुपातिक भोट बराबर मत उपचुनावमा भट्टराईले पाए पनि त्यो माओवादी केन्द्र, नेकपा (एस)सहित गठबन्धन दलको समेत मत हो ।

एमालेले उक्त क्षेत्रमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उठाएको थियो जो मंसिरको चुनावमा काठमाडौं–६ मा पराजित भएका थिए ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ०७७ जेठ अन्तिम साता ‘समाजवादी पार्टी फुटाउन सांसद अपहरणमा संलग्न’ भएको आरोप लगाएपछि उनी विवादमा परेका थिए ।

पूर्वआईजीपी खनालले मंसिरको चुनावमा एमाले उमेदवार रानाले पाएको भन्दा आधा मत पनि ल्याएनन् ।

उनले केवल ८ हजार ४८८ मत मात्र पाए, जो गत निर्वाचनको भन्दा करिब ११ हजारले थोरै हो । उनी कमजोर तेस्रो भए ।

एमालेले गत मंसिरको चुनावमा समानुपतिकतर्फ पाएको भोट पनि उनले ल्याएनन्, त्यसबेला एमालेले उक्त क्षेत्रमा १६ हजार ६८३ मत पाएको थियो ।

अर्को चर्चित चुनाव क्षेत्र चितवन–२ बाट फेरि रास्वपाका अध्यक्ष रवि लामिछाने पाँच महिनापछि दोस्रोपटक भारी मतले निर्वाचित भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूभन्दा पाँचगुणा बढी मत ल्याए ।  तनहुँ र चितवन दुवै क्षेत्रमा रास्वपाका उमेदवारका प्रतिद्वन्द्वी नै कोही भएनन् ।

रास्वपाका लामिछानेले ५४ हजार १७६ भोट ल्याउँदा कांग्रेसका जीतनारायण श्रेष्ठले केवल ११ हजार २१४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत मात्र पाए ।

मंसिरको चुनावमा कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ भोट पाएका थिए ।

मंसिरमा ४९ हजार ३०० भोट ल्याएर जितेका लामिछानेको भोट यसअघि भन्दा झन्डै पाँच हजार बढेको छ ।

कांग्रेस र एमाले कांग्रेस दुवैको भोट पहिलेभन्दा करिब ३५ सयले घट्दा यी दुई दलबीचको मतान्तर भने पहिलेजस्तै तीन सयको हाराहारीमै छ ।

मंसिरमा समानुपातिकतर्फ एमालेले १६ हजार ७८४ र कांग्रेसले १२ हजार १३२ मत पाएको थियो । एमालेले त पार्टीको भोट पनि करिब पाँच हजार गुमाएको छ ।

बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादव गठबन्धनका उमेदवार बनेका थिए, जो विजयी भए । यद्यपि, उनले धाँधली गरेको आरोप जनमत पार्टीका सीके राउतले लगाएका छन् ।

उनले जनमत पार्टीका उमेदवार शिवचन्द्रप्रसाद कुशवाहलाई पाँच हजार ८१ मतान्तरले पराजित गरे ।

विजयी यादवले २८ हजार चार सय १५ भोट ल्याउँदा कुशवाहले २३ हजार ३३४ मत पाए ।  त्यहाँ एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याएर तेस्रो भए ।

पौडेलले पाएको मत भने मंसिर ४ मा एमालेले समानुपातिकतर्फ पाएको भोटभन्दा एक हजार बढी छ ।

बारा–२ एमालेले ०४८ र ०५६ सालमा जितेको क्षेत्र हो । कांग्रेसले ०५१ सालमा जितेको थियो तर ०७४ र ०७९ को चुनावमा एमालेले उमेदवार नै दिएन ।

गत मंसिरको चुनावमा जसपालाई समर्थन गरेको एमालेले एउटा प्रदेशसभा सदस्य मात्र उठाएको थियो ।  यो क्षेत्रमा भने चुनाव लडेर एमालेले आफूलाई केही संगठित गरेको छ ।

गत चुनावमा आफैँ अध्यक्ष रहेको सुशासन पार्टीको तर्फबाट काठमाडौं–१ पराजित पूर्वप्रहरी अधिकृत रमेश खरेल पनि रास्वपाको टिकटमा बारा–२ बाट चुनाव लडेका थिए ।

करिब तीन हजार भोट पाएका उनको त्यहाँ पनि जमानत जफत भएको छ । जहाँ जोसुकै उठाएर अब चुनाव जित्न सकिन्न भन्ने शिक्षा पनि उनको पराजयले दिएको छ ।

गजब त के भने तीनै क्षेत्रमा एमाले तेस्रो भएको छ । एमालेले चितवन र तनहुँमा पहिलेभन्दा कमजोर परिणाम हासिल गरेको छ ।

एमालेले कांग्रेसको शेखी झार्न तनहुँमा आफ्ना कार्यकर्ताको केही मत स्वतन्त्र पार्टीका वाग्लेतर्फ ‘क्रस’ गराएको पनि बताइएको छ ।

अनि कांग्रेसले उमेदवार बनाएको तनहुँ र चितवन दुवै ठाउँमा पहिलेभन्दा भोट घटेको छ ।

विजयी उमेदवारसँग प्रतिस्पर्धा गर्न सकेको छैन । अनि संख्याले कुनै असर नगर्ने यो चुनावमा कांग्रेसले गठबन्धन गर्नु र दुवै महामन्त्रीलाई एक–एक क्षेत्र जिम्मा लगाउँदा पनि यति कमजोर परिणाम हासिल हुनुले पनि उसको भविष्यबारे आवश्यकताभन्दा बढी नै प्रश्न उठेको छ ।

प्रधानमन्त्री पद जोगाउनका लागि उपचुनावमा एउटा पनि क्षेत्रमा माओवादीले उमेदवारी दिएन ।

विघटनउन्मुख हुँदै गएको नेकपा (एस), लोसपाले पनि उमेदवार उठाएनन् । त्यसैले यी दलको अस्तित्व थप संकटमा परेको छ ।

हारले कोलाहल, सच्चिने कि सक्किने ? 

चितवनको मत परिणाम घोषणापछि विजयी लामिछानेलाई बधाई दिँदै कांग्रेस उमेदवार जीतनारायण श्रेष्ठले भनेका छन्, “ठूला दलहरू या त सच्चिनुपर्छ या त सक्किनुपर्छ भन्ने सन्देश परिणामले दियो । कांग्रेस मात्र होइन, एमालेको पनि त्यस्तै छ । हामीलाई सक्किनु छैन,त्यसैले सच्चिनुपर्छ ।”

उनको अभिव्यक्तिले निकै ठूलो तरंग पैदा गरेको छ । चितवनमा उनलाई जिताउने जिम्मा लिएर खटिएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विजयीलाई बधाई दिँदै ट्विट गरेका छन्, “परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ । देशको सुमय बदल्न नेतृत्व गरेको दलले बदलिएको समयअनुरुप आफूलाई बदल्नु छ । नयाँ अभियानमा नयाँ ढंगले जुट्ने छौँ हामी … ।”

‘मिनी–जनमतसंग्रह’को रूपमा हेरिएको तीन क्षेत्रको निर्वाचनले रास्वपालाई नयाँ उचाइमा पुर्‍याएको छ ।

मधेस प्रदेशको उदीयमान शक्तिका रूपमा देखापरेको सीके राउतको जनमत पार्टीले पनि जसपा अध्यक्षलाई एक्लै चुनौती दिएर आफूलाई राम्ररी परीक्षण गरेको छ ।

उपचुनावमा तीनै क्षेत्रका मतदाताले स्थानीय उमेदवारलाई हराइदिए । अनि बाहिरी जिल्लाबाट गएका उमेदवार विजयी भएका छन् ।

चितवनबाट विजयी लामिछाने काठमाडौंका हुन् भने तनहुँबाट जित्ने वाग्ले गोरखाका हुन् । अनि बाराबाट जित्ने यादव विराटनगरका स्थायी बासिन्दा हुन् ।

तीन क्षेत्रका उपनिर्वाचनबारे पूर्वमन्त्री जेपी गुप्ताको मूल्याङ्कन छ, “…. बारा–२ को उपनिर्वाचनले स्पष्ट गर्दै छ कि मधेसमा अझै जंगल राज कायम रहन्छ । तनहुँ र चितवनको अपेक्षा ठूलो परिवर्तन नै हो ।”

उपचुनावको परिणामले देशमा वैकल्पिक लोकतान्त्रिक पार्टी स्थापित भएको सन्देश कांग्रेस–एमालेभित्र फैलिएको छ ।

आगामी चुनावमा अरु दलभित्रबाट अवसर नपाएका ‘लोकप्रिय अनुहार’का लागि आशलाग्दो अवसर हुनसक्छ– रास्वपा ।

स्वर्णिम वाग्लेले मोलेको जोखिमले अरू दलका यस्ता अनुहारमा आशाको सञ्चार पनि गराएको छ जो ‘पुराना पार्टी’का लागि चुनौती हो ।

चुनावपछिको पाँच महिनामा भएका सत्ता–समीकरण फेरबदल र देशको गिर्दो आर्थिक अवस्थाप्रतिको राजनीतिक नेतृत्वको उदासिनाको जवाफ पनि हो– उपचुनावको परिणाम । मतदाताप्रति सरकारले कुनै पनि ‘डेलिभरी’ नदिँदाको जवाफ पनि मतदाताले दिएका छन् ।

चुनावमा नराम्रो धक्का व्यहोरे पनि कांग्रेस–एमालेभित्र तत्कालै क्रूर समीक्षा गरेर अघि बढ्ने जाँगर देखिँदैन ।  कांग्रेस नेताहरूले हारको रूपमा स्वीकारे पनि एमाले नेताहरू भने पार्टीले केही पनि नगुमाएको बताउँछन् ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङ आफूले ठूला तीनै दलका अध्यक्षहरू एकसाथ भएको बेलामा परिस्थितिले थपेको चुनौतीबारे जानकारी गराएको बताउँछन् ।

“मैले भन्दा उहाँहरू गम्भीर देखिनुभयो,” उनले भने ।

एमाले अध्यक्ष केपी ओली ‘ग्रासरूट अभियान’मै व्यस्त छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पनि बैठक डाकेर आलोचना व्यहोरिहाल्ने मनस्थितिमा देखिँदैनन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker