१ बैशाख २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
दरबारका मूर्तिहरुको पछिल्लो महत्तो र अहिलेको अवस्था - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)Uncategorizedकर्णाली प्रदेशगण्डकी प्रदेशताजा समाचारदेशपर्यटनप्रदेश १फिचरबिचारबिचित्रमधेस प्रदेशमुख्य समाचारराजनीतिलुम्बिनी प्रदेशवाग्मती प्रदेशसुदूरपश्चिम प्रदेशसुरक्षा/अपराधस्थानीय तह

दरबारका मूर्तिहरुको पछिल्लो महत्तो र अहिलेको अवस्था

मूर्तिहरूका आआफ्नै फूर्ति, तडकभडक आदि छन् । पहिले पुराना मूर्तिहरूमा धूपदीप नैवेद्य चढाइन्थ्यो ।  अहिले मूर्तिहरूमा अबिर, माला र खादा पहिर्‍याइन्छ । उनीहरूका लागि सरकारी पहिरन सिलाइन्छ । मानिसहरूले लगाइदिन्छन्, अझ भनौं सजाइदिन्छन् ।

जसोतसो चुनाव भ्याइयो । सरकारहरू बने । अब नयाँ नयाँ मूर्तिहरू तयार हुँदै छन् । तिनै पुराना मन्दिरहरूमा । नयाँ बोतलमा पुरानो रक्सी भनेजस्तै पुराना मन्दिरहरूमा नयाँ नयाँ मूर्तिहरू विराजमान भइरहेका छन् । सरकारी मन्दिर सजाउने काम भइरहेको छ । नयाँ फर्निचर, नयाँ रङरोगन, नयाँ गलैंचा ता कि उनका गर्भगृहमा नयाँ मूर्तिहरू ल्याउन सकियोस् ।

लोकतन्त्रको सम्पूर्ण मन्दिरहरू नै मूर्तिहरूमाथि निर्भर छ । कोही घण्टी बजाइरहेका छन् । कोही हँसिया हथौडा त कोही कलम लिएर । कोही छाता लिएर सिंहासन घुमिरहेका छन् ।

मूर्तिहरूका आआफ्नै फूर्ति, तडकभडक आदि छन् । पहिले पुराना मूर्तिहरूमा धूपदीप नैवेद्य चढाइन्थ्यो ।  अहिले मूर्तिहरूमा अबिर, माला र खादा पहिर्‍याइन्छ । उनीहरूका लागि सरकारी पहिरन सिलाइन्छ । मानिसहरूले लगाइदिन्छन्, अझ भनौं सजाइदिन्छन् । उनीहरूका लागि गाडी, घोडा, बंगला, बैठके, हुक्के, ढोके भाट र द्वारपाले तथा नन्दीभृंगीहरू अर्थात् अंगरक्षक आदिको पनि व्यवस्था गरिन्छ । भक्तहरू खडा नै छन् उपासनाका लागि तम्तयार । काँपेको स्वरमा, लत्रेको भावमा । पेटभित्र दबाएर उभिएका छन् । केही बिन्ती मुद्रामा । जागीर, सरुवा, बढुवा, ठेक्कापट्टा अनगिन्ती प्रार्थनाका गीतहरू लिएर । आरती गाउँदै ।

आज दरबारको वा भनौं शासन सचिवालयको प्रत्येक कुनामा, बरण्डामा मूर्तिहरू उभिएका छन्, सोफा वा कुर्सीमा पल्टेका छन् । सचिवालयको पार्किङदेखि बाथरूमसम्म मूर्तिहरू छरस्पष्ट छन् । क्यान्टिनमा समोसामाथि सेल वा च्युरामाथि आलुकेराउको झोल वा खीर भकुर्दै गरेका मूर्तिहरू । प्रत्येक मूर्तिले आफ्नो आरतीको माग गरिरहेको देखिन्छ । आफ्नो पूजापाठ मागिरहेको छ । मूर्ति आफ्नो दर्शन दिएबापत सट्टामा केही पुष्प नैवेद्यको माग गर्दछ । खास कुरा यो छ कि लगातार माग्छ । फेरि फेरि मागि नै रहन्छ । अहिलेको मूर्ति आफै आफ्नो पूजा पनि गर्छ भुजा पनि गर्छ । अरूलाई पनि गराउँछ । आफै आफूलाई पूजा गर्नु गराउनु नयाँ मूर्तिको विशेषता हो ।

मूर्ति अन्तरयामी पनि छ । भक्तको हातमा कुन प्रकारको मोबाइल, घडी र पहिरन छ, ठ्याक्कै थाहा पाइहाल्छ । हातमा कुन कारको साँचो छ ? साँचो र मोबाइलको हुलिया देख्नेबित्तिकै पूजापाठको दर बताइन्छ । दर पहिल्यै तय छ । कुनै दिमागी खेल छैन । मूर्तिहरू केवल एक छैन, अनेक छन् । ठूला मूर्तिहरू । साथसाथै साना मूर्तिहरू । अझ साना छोटा होचा मूर्तिहरू । मूर्तिहरूका एक विशाल समूह सर्वत्र व्याप्त छ । प्रत्येक मूर्ति आफ्नो समूहको ठूलो मूर्ति हेरेर आफ्नो फूर्ति तय गर्छ ।

जो हिजो सामान्य हैसियतका थिए, आज उनीहरू नयाँ पहिरन लगाउनेमा पुगेका छन् । आज उनीहरू नेता हुँदै मन्त्री पद पाएर अहिले मूर्ति बनेका छन् । शासन सचिवालयको एउटा ठूलो कोठामा उनीहरू सुशोभित विराजमान छन् । उनका पण्डित पुजारी कीर्तन गरिरहेका छन् । जयजयकार लगाइरहेका छन् । आफ्ना लागि सिंगापुर, दुबई वा अमेरिकामा तेस्रो बंगला खरीद गर्न मूर्तिका गलामा मालाहरू पहिर्‍याइएका छन् । मूर्तिका घाँटीदेखि शिरसम्मै मालाहरूले भरिएका छन् । मूर्तिलाई अरू थुप्रै माला चाहिएको छ । हो, उसलाई मालाले पुरिनु छ । जति ठूलो माला त्यति महान् मूर्ति । पूजा अर्चना पनि चाहिएको छ । यसमा उमेरको कुनै बन्धन छैन । कुनै मूर्तिलाई नयाँ पुराना फाइल पल्टाउनु छ, कुनै कुनै मूर्तिलाई आफ्नो मुद्दा सल्टाउनु छ । मूर्तिको पनि आआफ्नै माग हुन्छ, गृहमा बस्ने नभए दरबारमै नबस्ने वा भौतिक यातायातमा बस्ने तर स्वास्थ्यमा नबस्ने वा कहाँ आफू प्रतिस्थापित हुने हो भनेर ।

मूर्तिसामु जो कोही पनि भक्त आउँछ, उसको अन्तरआत्माले उसलाई चिनिहाल्छ । बडो कुटिल र चलाख किसिमका छन् यी मूर्तिहरू । उसलाई यो थाहा हुन्छ कि कसले कतिपटक उसको परिक्रमा लगाइरहेको छ ? कसले कसरी कति चक्कर लगाइरहेको छ ? परिक्रमा र चक्करबाटै मूर्तिहरूले हिसाब गरिसकेका हुन्छन् । लोकतन्त्रको सम्पूर्ण मन्दिरहरू नै मूर्तिहरूमाथि निर्भर छ । कोही घण्टी बजाइरहेका छन् । कोही हँसिया हथौडा त कोही कलम लिएर । कोही छाता लिएर सिंहासन घुमिरहेका छन् । शंखनाद भइरहेकै छ । मुख्य मूर्तिको वरिपरि सानातिना मूर्ति शोभायमान छन् । कोही मूर्तिहरू रुखमुनि तपस्या गरिरहेका छन् अझ ठूलो मूर्ति बन्न । कोही मूर्तिहरू सूर्यलाई अघ्र्य दिइरहेका छन्, अझ धेरै मूर्ति बन्न र बनाउन ।

मूर्तिहरू जो विभागीय प्रमुख, उपप्रमुख, अफिसर वा हाकिमहरूका रूपमा विराजमान छन् । मूर्तिहरू जो पियनको रूपमा घुसेर खरदार सुबेदार हुँदै अफिसर बन्न सफल छन् । मूर्तिहरू जो पहरेदार बनेर आउँछन् र महाराज बनेर अडिन्छन् । मूर्तिहरू बेलाबेलामा सदाचारको खुब नाटक गर्छन् । यो नाट्यकर्ममा प्रत्येक मूर्ति अन्तत: पत्थरकै बन्न पुग्छ । सर्वसाधारणलाई भोको पेटमा अझ पखाला चल्छ । तर माग्ने मुद्रामा ऊ शंख फुकि नै रहन्छ । शासन सचिवालयमा पसारिएका मूर्तिहरू आफ्नो पूजापाठ त मागिरहन्छन् नै । उनीहरू परिक्रमा र परिभ्रमणबाट प्रशन्न भइरहन्छन् । प्रत्येक व्यक्तिलाई कमसेकम बीस–पचास चक्कर त गराउँछन् यी मूर्तिहरूले ।

त्यसो त मन्दिरहरूमा पनि मूर्तिहरू हुन्छन्, अदालतमा पनि मूर्तिहरू हुन्छन् । मन्दिरका मूर्तिहरूले माग्दैनन् र चढाएको पनि खाँदैनन् । मन्दिरका नाममा भक्तहरूले र अझ पूजारीहरूले चैं खान्छन् । अदालतका मूर्तिहरू कोही खाने हुन्छन् त कोही नखाने हुन्छन् । कोही खान नपाउने हुन्छन्, कोही खान नसक्ने हुन्छन् । अनि कोही चाहिँ उज्यालोमा नखाने तर दिउँसै अँधेरो पारेर खाने हुन्छन् । कोही त आमाको रगतको कसम खाएर खान्न भन्दा भन्दै झनै बढी खाने हुन्छन् । तर दरबारका मूर्तिहरू नखाने कमै हुन्छन् । हो, दरबारका मूर्तिहरू नखाने कमै हुन्छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker