फूल बेच्न काठमाडौं महानगरले तोक्यो ४६ ठाउँ, प्लाष्टिकका फूललाई निषेध
काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारमा फूल बेच्नका लागि ४६ ठाउँ तोकेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै प्लास्टिकका फूलको बिक्री निषेध गरिएको बताएका छन् ।
‘काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्रीलाई व्यवस्थित गर्न यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा बिक्रीको प्रबन्ध गरेको छ ।
प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्रीमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गरिएको हो,’ उनले भनेका छन् ।
गत वर्ष महानगरले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल बिक्री गर्न ठाउँ तोकेको थियो । गत वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूलको विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास गरिएको मेयर शाहले बताएका छन् । उक्त स्थानमा फूल तथा माला बिक्री नभएपछि कृषकहरूले त्यत्तिकै छाडेर हिँडेका थिए । यस वर्ष मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा बिक्रीको प्रबन्ध गरिएको मेयर शाहले बताएका छन् ।