काठमाडौं जोड्ने सबै नाकाहरु ठप्प, हजारौं यात्रुहरु अलपत्र
चितवन। राजधानी काठमाडौं भित्रिने र बाहिरिने नाकाहरु ठप्प भएका छन् । आज तेस्रो दिन पनि काठमाडौंबाट गाडीहरु बाहिरिएका छैनन् । भित्रिने क्रममा रहेका गाडीहरु भने बीचबाटोमै अलपत्र छन् ।
नागढुंगा–मुग्लिन, दक्षिणकाली–सिस्नेरी, कान्ति राजपथ, अरनिको र बीपी राजमार्गका ठाउँ–ठाउँमा पहिरो खसेर सडक अवरुद्ध बनेपछि काठमाडौं छिर्न र यहाँबाट बाहिरिन सर्वसाधारणलाई समस्या भएको हो।
पश्चिमतर्फबाट काठमाडौं भित्रिने मुख्य नाका नागढुंगाको अवस्था सबैभन्दा खराब छ । जसले गर्दा यी नाका भएर दैनिक उपभोग्य वस्तु राजधानी भित्रिन सकेनन् । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण सबै नाका ठप्प बनेका हुन् ।
यसैबीच शनिबार साँझ अबेरसम्म देशभरका विभिन्न सडकखण्डका ६८ स्थानमा पहिरो खसेर यातायात ठप्प भएको छ । ठाउँ–ठाउँमा पहिरो खसेका कारण ती सडक खण्डमा यातायात सञ्चालनमा आउन सकेको छैन । सबैभन्दा बढी पहिरो नौबिसेदेखि मुग्लिनसम्मको सडक खण्डमा छ । यही सडकमा पर्ने झ्याप्ले खोलामा पहिरो खस्दा केही यात्रुवाहक सवारी पुरिएर मानवीय क्षतिसमेत भएको छ ।
नौबिसे–मुग्लिन सडकको मझिमटार, मौवाखोला, घोप्टेभिरमा पहिरो खसेर शनिबार दिनभर यातायात ठप्प बनेको छ । नागढुंगा सुरुङमार्गको मुखैमा लेदोसहित पहिरो खस्दा यातायात ठप्प छ । यो खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । धादिङतर्फ रोकिएका यात्रुवाहक र कुखुरा बोकेका केही सवारीसाधनलाई निर्माणाधीन नागढुंगा सुरुङमार्ग प्रयोग गरी काठमाडौं आउन सहजीकरण गरिएको छ ।
झ्याप्ले खोलामा पुरिएका दुईवटा बसबाट हिजो बेलुका १४ जनाको शव निकालिएको थियो । आज पनि त्यहाँ पुरिएको अर्को बसलाई निकाल्ने क्रममा थप ३ जनाको शव फेला परेको छ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट पूर्वतिर र दक्षिणतिर जाने सडकमा पनि पहिरोले क्षति पुगेकाले सवारी आउजाउ ठप्प भएको छ ।
उत्तरतर्फ (नुवाकोट)तिर जाने सवारी साधनहरु टोखा, झोर हुँदै चलिरहेका छन् । तर त्यो बाटोमा अत्यावश्यक सवारी साधनमात्र चलिरहेका ट्राफिक प्रहरीले सञ्चालन गरेको एफएमले जनाएको छ । तर उत्तरतिर जाने सडक पनि पहिरोले गर्दा ठाउँ–ठाउँमा अवरोध छ ।
अविरल वर्षासँगै झरेको पहिरोले बाटो बन्द भएपछि तीन दिनदेखि काठमाडौंबाट लामो दुरीका सवारी साधन छुटेका छैनन् ।
कान्ति राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग, मिर्चैया–कटारी–घुर्मी, सहिद मार्ग रोल्पा, भेरी कोरिडोर, सालझन्डी–सन्धिखर्कलगायत सडकको विभिन्न स्थानमा पहिरो खसेर यातायातका साधन चल्न सकेका छैनन् । यसैबीच भौतिकमन्त्री देवेन्द्र दाहालले अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन सडक विभाग र यसअन्तर्गतका निकायलाई निर्देशन दिएका छन् ।
सुरुङमार्गबाट यात्रुको उद्धार:
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको धादिङतर्फको मुखैमा लेदोसहितको पहिरो खसेर अलपत्र परेका सयौं यात्रुको उद्धार गरिएको छ । पहिरोको मुखमा अलपत्र यात्रुलाई सुरुङमार्ग आयोजनासँग समन्वय गरी उद्धार गरेर काठमाडौं निकालिएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले जनाए ।
सुरुङमार्गको धादिङतर्फ सडकमा रोकिएका यात्रुलाई सडक विभाग, चन्द्रागिरि नगरपालिका र सुरुङमार्ग आयोजना कार्यालयले समन्वय गरी स्थानीय रुटमा चल्ने यात्रुवाहक सवारी साधन प्रयोग गरेर काठमाडौं ल्याइएको हो ।
करिब ३० ट्रिप गरेर रोकिएका यात्रुको उद्धार गरिएको आयोजनाका एक कर्मचारीले जनाए । कुखुरा बोकेका करिब दर्जन गाडीलाई सुरुङमार्गबाटै ल्याइएको छ । ‘यात्रु सडकमै अलपत्र थिए, पहिरोले गर्दा सडकमार्गबाटै काठमाडौं आउने अवस्था थिएन,’ सुरुङमार्गका एक कर्मचारीले भने ।