आजको मौसम :केहि जिल्लामा आज भारी वर्षा, उच्च जोखिममा
चितवन। मौसम पूर्वानुमान महाशाखाले मंगलबारदेखि देशभरी पानी पर्ने क्रम फेरि सुरू हुने जनाएको छ।
महाशाखाले सोमबार साँझ विशेष बुलेटिन जारी गरेर आजदेखि पानी पर्ने क्रम सुरू हुने र बुधबारदेखि अझै बढ्ने पूर्वानुमान गरेको हो।
केही दिनयता पानी नपर्दा चर्को घाम सहेकाहरुलाई वर्षाले राहत दिने छ। तर भित्राउन तयार बालीनालीलाई र अन्य कृषिकर्ममा भने यसले असर पुर्याउने छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ।
महाशाखाले बिहान देशभर आंशिकदेखि साधारण बदलीको अवस्था रहेको जनाएको छ। कोशी, बागमती र मधेशस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा समेत भइरहेको छ।
यी हुन् उच्च जोखिममा परेका जिल्ला:
असोज १० गतेदेखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्मका सबै जिल्ला वर्षाबाट प्रभावित हुनेछन् । सबैभन्दा बढी प्रभाव गण्डकी प्रदेशदेखि सुदूरपश्चिमसम्मका जिल्लामा पर्ने छ। ती क्षेत्रका २७ जिल्लालाई वर्षाबाट उच्च जोखिमको सूचीमा राखिएको छ ।
महाशाका अनुसार कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दी उच्च जोखिमको रेड जोनमा परेका छन्।
यसैगरी लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँकेलाई पनि उच्च जोखिमको सूचीमा राखिएको छ। कर्णाली प्रदेशका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधु्रा र डोटी जिल्ला पनि उच्च जोखिमको रेड जोनमा छन्।
कोशी , बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा राति भारी वर्षाको हुने पूर्वानुमान छ।