१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कञ्चनपुरमा झाडी सरसफाइका नाममा रूख काटेपछि वडाध्यक्ष पक्राउ – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रराजनीतिसुदूरपश्चिम प्रदेशसुरक्षा/अपराधस्थानीय तह

कञ्चनपुरमा झाडी सरसफाइका नाममा रूख काटेपछि वडाध्यक्ष पक्राउ

कञ्चनपुर । झाडी सफाइको नाममा रूख काटेपछि कञ्चनपुरका एक जनप्रतिनिधि पक्राउ परेका छन्।

बेलौरी छोटी भन्सार कार्यालयपरिसरभित्र रहेको झाडी सफाइका क्रममा रूख काटेको आरोपमा वडाध्यक्ष भोजराज चौधरी पक्राउ परेका हुन्।

डिभिजन वन कार्यालय कञ्चनपुरले आइतबार साँझ महेन्द्रनगरबाट बेलौरी नगरपालिका– ६ का वडाध्यक्ष चौधरीलाई पक्राउ गरेको जनाएको छ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलले अनुमतिविनै रूखकटानी गरेपछि वडाध्यक्ष चौधरीलाई पक्राउ गरिएको बताए।

संघीय सरकारमातहत रहेको बेलौरी छोटी भन्सार सञ्चालनका लागि १३ साउनमा वडाकै अगुवाइमा झाडी सफाइ गरिएको थियो। झाडी सफाइका क्रममा सरकारी कार्यालयपरिसरभित्र रहेका रूख कटानी गरिएको भन्दै वडाध्यक्ष चौधरीविरिुद्धमा उजुरी गरेपछि वनले वडाध्यक्ष चौधरीलाई बयानका लागि भनेर बोलाएर नियन्त्रणमा लिएको छ। भन्सार क्षेत्रबाट काटिएको रूख र दाउरा वनले नियन्त्रणमा लिएको छ।

सब डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवले गोलिया ११९ क्युफिट र दुई चट्ठा दाउरा वनले नियन्त्रण गरेर राखेको बताए।

कैलाली भन्सार कार्यालयमातहत रहेको बेलौरी छोटी भन्सार कार्यालयपरिसरमा रहेका रूखकाटेपछि भन्सारसमेत रुष्ट भएको छ। भन्सारले वनलाई रूख कटानी गर्नेमाथि कारबाहीको माग अघि सारेर पत्राचार गरेको थियो।

कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले अनुमतिविनै रूखकसैले पनि काट्न नपाउने बताए।

‘हामीले कसैलाई पनि भन्सारपरिसरभित्र रहेका रूखकाट्न अनुमति दिएका छैनौँ। कसैले मागेको पनि छैन,’ उनले भने, ‘यस विषयमा वनले अनुसन्धान गरिरहेको छ, यसरी गैर कानुनी रूपमा रूखकाट्ने काममा हाम्रो साथ–समर्थन रहने कुरै भएन।’

संरक्षणकर्मीले समेत झाडी सरसफाइका नाममा अनुमतिविनै कसैले पनि आरा नै लगाएर रूखकाट्न नपाइने बताए। सामुदायिक वन उपभोक्ता महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी साउदले कसैले पनि पर्यावरणविरुद्ध गतिविधि गर्न नहुने बताइन्। झाडी सफाइ गर्न पाइए पनि प्रक्रियाविनै रूख काट्न नपाइने उनकाे भनाइ थियाे। ‘कानुनअनुरूप राम्रो कामका लागि रूखकाट्न पाइन्छ, तर कानुनविपरीत रूख काट्न पाइँदैन।’

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले भन्सार कार्यालयपरिसरभित्र रहेको झाडी सफाइका क्रममा रूख काटिएपछि वडाध्यक्षले सूचना नै जारी गरेकाले उनीविरुद्धमा मुद्दा दायर भएको बताए।

अवस्थीका अनुसार वन नियमावली, २०७९ को नियम ३७ अनुरूप वनविरुद्धको गतिविधि गर्दा वडाध्यक्ष पक्राउ परेका हुन्। ‘सम्बन्धित कार्यालयबाटै आफ्नो परसरमा भएका रूख कटाउन वनलाई पत्राचार गरेर अनुमति लिनुपर्ने हो,’ सूचना अधिकारी अवस्थीले भने, ‘त्यहाँ त्यसो गरेको देखिएन। प्रक्रिया पूरा गरे रूख हटाउन मिल्छ।’

३० वैशाख ०७९ मा सम्पन्न भएको दोस्रो स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित चौधरी स्थानीय एमाले नेता हुन्। उनी पक्राउ परेपछि पक्ष-विपक्षमा धारणा आइरहेका छन्। यसबारेमा वडाध्यक्ष भोजराज चौधरीसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन्।

बेलौरी नगरपालिका उपप्रमुख जोगराज चौधरीले सरसफाइ भन्दै आफूलाई समेत भन्सार क्षेत्रमा बोलाएको, तर आफूले काठ नकाट्न सम्झाइबुझाई गर्दा उल्टै आफूसँगै वडाध्यक्षसहितका स्थानीय रिसाएको बताए।

‘केही दिन पहिला वडाले बेलौरी भन्सार क्षेत्रमा सरसफाइ राखेको थियो, त्यहाँ मलाई पनि बोलाइएकाे थियाे,’ उनले भने, ‘मैले रूखकाट्दा फसिन्छ भनेर सम्झाएँ। कसैले मानेन। आज यो अवस्था आयो।’

वर्षाैँदेखि बन्द रहेकाे बेलौरी छोटी भन्सार कार्यालय खुलाउने प्रयास भइरहेकाे छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button