मोटरसाइकल जोगाउन खोज्दा बस दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं । त्रिशुली–काठमाडौं सडकखण्ड अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।
गल्छिबाट त्रिशुलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. ५८ प २८०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका–७ बस्ने मोतीराम राईका छोरा २२ वर्षीय जीवन राई रहेको प्रहरीले जनाएको छ । उनलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृतकका आफन्तहरूले अहिले घटनास्थलमा पुगे बाटो अवरोध गरिरहेका छन् । बसमा सवार १८ जना र मोटरसाइकलमा सवार १ जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल नुवाकोट लगिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।