२२ आश्विन २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
नौ वर्षपछि धरहरा खुल्ला, प्रत्येक दिन ६०० ले चढ्न पाउने, तत्कालका लागि निःशुल्क
Banner NewsBanner news (with photo)ताजा समाचारदेशपर्यटनप्रवासप्राविधिक समाचारमुख्य समाचारसफलताको कथासूचना / प्रबिधिस्थानीय तह

नौ वर्षपछि धरहरा खुल्ला, प्रत्येक दिन ६०० ले चढ्न पाउने, तत्कालका लागि निःशुल्क

काठमाडौँ। संविधान दिवसको अवसर पारेर सर्वसाधारणको लागि आजदेखि बधुनिक धरहरा खुल्ला गरिएको छ । तत्कालका लागि धरहरा प्रवेशमा कुनै शुल्क लाग्ने छैन ।

२०७२ बैशाख १२ को भूकम्पका कारण ढलेको धरहरा ९ वर्षपछि सर्वसाधारणका लागि खुलेको हो । २०७२ मा ढलेको धरहराकै छेउमा नयाँ धरहरा बनाइएको छ ।

आज बिहानैदेखि धरहरा चढ्न सर्वसाधारणको भिड लागेको छ ।

Nepal Himalayas Tours and Travel

मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले यसको व्यवस्थापनको जिम्मा पाएको छ । सरकारले गठन आदेश नबनाउञ्जेलसम्म सर्वसाधारणलाई निःशुल्क गरिएको हो । निःशुल्क प्रवेश गर्न dharhara.gov.np बाट अनलाइन टिकट बुक गर्न सकिने इकाइ आयोजना निर्देशक कोशनाथ अधिकारीले जानकारी दिए ।

तर, वेबसाइट नखुल्ने समस्या देखिएको छ । त्यस्तो अवस्थामा काउन्टरमा गएर टिकट लिएको प्राथमिकताका आधारमा धरहरा चढ्न दिइनेछ ।

उनका अनुसार वेबसाइटबाटै इन्ट्री गर्न मिल्ने, बुक गर्न मिल्ने, क्यूआर कोड लिन मिल्ने व्यवस्था हुँदै गरेको छ ।

एक दिनमा अधिकतम ६ सयले धरहरा चढ्न पाउने अधिकारीले सुनाए । उनका अनुसार त्यसमध्ये १ सय कोटा वृद्ध, अशक्त, अपाङ्गता भएकालाई छुट्याइएको छ । प्रत्येक एक घण्टा सय जनाले चढ्ने गरी व्यवस्था मिलाइएको छ ।

धरहरा निर्माणको करिब ५ प्रतिशत काम भने अझै बाँकी छ । ठेकेदार कम्पनीले पूरा काम सकाएर हस्तान्तरण गरेपछि मात्र यसको सञ्चालन प्रक्रिया टुंग्याइनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षअघि नै निर्माणाधीन अवस्थामै धरहराको उद्घाटन गरेका थिए । पुनः धरहरा उद्घाटन गर्ने कार्यक्रम नरहेको विभागले जनाएको छ ।

२०७२ सालको भूकम्पमा बचेको धरहराको बाँकी संरचनालाई पानी, हावाहुरीले नबिग्रने गरी संरक्षण गरिएको छ । त्यस भागलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिएको छ । नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको खण्डहर पनि हेर्न पाऊन् भन्ने उद्देश्यले उक्त खण्डहरलाई जोगाइएको हो ।

भूकम्पले क्षति पुर्‍याएको तीन वर्षपछि २०७५ पुस १२ मा आधुनिक धरहरा निर्माणको शिलान्यास भएको थियो ।

भीमसेन थापाले काठमाडौंको सुन्धारामा विक्रम संवत् १८८२ मा ११ तलाको धरहरा निर्माण गरेका थिए । १९९० को भूकम्पले त्यो धरहरामा क्षति पुगेपछि राणा प्रधानमन्त्री जुद्ध शम्शेरले ११ तलाबाट झारेर नौ तले बनाए ।

नयाँ धरहरा २२ तलाको भूकम्प प्रतिरोधात्मक छ । नयाँ धरहरा पुरानो धरहराका बाँकी अंश रहेको क्षेत्रबाट करिब १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा छ । साढे ४२ रोपनी क्षेत्रफलमा फैलिएको गजुरसहितको नयाँ धरहराको उचाइ ७७ मिटरको छ । धरहरा परिसरमा बगैंचा, संग्रहालय, प्रदर्शनी कक्ष, पुस्तकालय, पार्किङ स्थल, क्याफे र व्यापारिक पसल सञ्चालनमा आउनेछ । धरहरा परियोजनाअन्तर्गत यात्रु प्रतीक्षालय तीन महिनाअघि नै सञ्चालनमा आइसकेको छ ।

धरहरा प्रवेश खुलेसँगै यस क्षेत्रको भिड नियन्त्रणका लागि गृह मन्त्रालयले थप प्रहरी परिचालन गर्ने भएको छ । खानेपानीको व्यवस्था काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले गर्नेछ । यसका लागि बगैँचामा खानेपानीको धाराको व्यवस्था गर्नेछ । धरहरा क्षेत्रको विद्युत्सम्बन्धी कामको जिम्मेवारी प्राधिकरणले पाउने भएको छ । धरहरा क्षेत्रभित्र हालका लागि आवश्यक सबै कर्मचारीको व्यवस्था संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने विभागले जनाएको छ । अधिकारीका अनुसार हाल परीक्षणकाल भएकाले धरहरामा बाँकी रहेको निर्माण कार्य सँगसँगै हुनेछ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले तीन वर्ष (वैशाख ०७८)अघि धरहराको उद्घाटन गर्दै सर्वसाधारणका लागि खुला गरेको घोषणा गरेका थिए । तर, धेरै काम बाँकी भएकाले धरहरा खुलेको थिएन । यसपटक पनि धरहरा सञ्चालन कार्यविधिविनै प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट संविधान दिवसका दिन अर्थात् बिहीबारदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेपछि खुल्न लागेको हो । धरहरा अझै पूर्ण रूपमा बनिसकेको छैन । धरहरापरिसरमा रहेको ठुटे धरहरा (पुरानो) र सुन्धारा पुनर्निर्माण सुरु नै भएको छैन ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button