जमिनमुनि गाडी हराएको पाँचौ दिनमा भूगर्भविद्ले थाले अध्ययन

चितवन। गाडी भासिएर हराएको विषयमा खानी तथा भूगर्भ विभागको टोलीले अध्ययन सुरु गरेको छ । मंगलबार बिहान हेटौडा पुगेको भूगर्भविद् नारायण अघिकारी र कृष्ण पाण्डेसहितको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन सुरु गरेको हो ।
विभागका भूगर्भविद् नारायण अधिकारीले टोलीले घटनास्थलको भौगोलिक अवस्था, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र र घटनाको कारणबारे बारेमा अध्ययन गर्ने जानकारी दिए ।
टोलीले घटनास्थलको सतह मुनि माटो बनोट तह तथा भूमिगत जलको विषयमा अध्ययन गर्ने गरी केही उपकरण प्रयोग गर्ने तयारी गरेको छ ।
गत शुक्रबार हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमाना नजिकै गैरीगाउँको भित्री सडकमा रोकिराखेको अवस्थामा माछा बोक्ने ना ४ च ४८३३ नम्बरको बलेरो गाडी जमिन भासिएर एक्कासी बेपत्ता भएको थियो ।
लगातार ३ दिन खोज्दासम्म गाडीको अवस्था पत्ता नलागेपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद्को सहयोग मागेको हो ।
सो गाडीको खोजी जारी राखिए पनि अहिलेसम्म भेटिएको छैन ।
गाडी भासिएको त्यो ठाउँमा अहिले ठूलो खाल्डो परेको छ र त्यो खाल्डो धमिलो पानीले भरिएको छ । बाटोमा गुडिरहेको गाडी भासिएर जमिनमुनि हराएको घटनाले धेरैको ध्यान तानेको छ ।
गाडी हराएको दुई दिनपछि बल्ल हेटौंडा उपमहानगरपालिकामा विपद व्यवस्थापन समितिको बैठक बसेर भूगर्भविदको सहयोग लिने निर्णय भएको थियो । सोही अनुसार भूगर्भविदको टोली हेटौंडा पुगेर अध्ययन थालेको छ ।