१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
यसरी पक्राउ परे गैंडा शिकार गरी खाग बेच्न खोज्ने १५ जना – Nepal Rastra Khabar
Banner news (with photo)Uncategorizedताजा समाचारसुरक्षा/अपराध

यसरी पक्राउ परे गैंडा शिकार गरी खाग बेच्न खोज्ने १५ जना

अवैध रूपमा गैंडाको शिकार गरी खाग ओसारपसार गरेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गैंडाको शिकार गर्नेदेखि बेचबिखनमा संलग्न १५ जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सञ्जयसिंह थापाले जानकारी दिए।

सिआइबीले ‘अपरेसन रुट टू रूट (route to root)’ सञ्चालन गरी १५ जनालाई पक्राउ गरी घटनाबारे सार्वजनिक गरेको हो।

यो अपरेसन गत पुस १९ गते प्रहरीले विशेष सूचना पाएपछि सुरू भएको थियो।

काठमाडौंमा अवैध रूपमा संरक्षित वन्यजन्तुको अखेटोपहारको ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचना पाएपछि सिआइबीबाट एउटा टोली खटियो।

उक्त टोलीले काठमाडौं महानगरपालिका-७ सरस्वतीनगर टोलबाट दुई जनालाई पक्राउ गर्‍यो। उनीहरू झापा घर भई भद्रपुर नगरपालिका-१० बस्ने ४५ वर्षीय इन्द्रमणि आचार्य र कोहलपुर नगरपालिका-११ की ४१ वर्षीया जमुनाकुमारी शर्मा थिए।

एसपी थापाका अनुसार उनीहरूलाई खाग बेच्न बजार खोज्ने जिम्मा दिइएको थियो। बजार खोज्ने क्रममा उनीहरू पक्राउ परे। उनीहरूबाट प्रहरीले एउटा गैंडाको खाग पनि बरामद गरेको थियो। उक्त खाग ५२२ ग्रामको छ।

प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि पुस २० गते डिभिजन वन कार्यालय हात्तीसारमा बुझाएको थियो।

यता सिआइबीको टोलीले पनि कार्यालयसँग समन्वय गरी अनुसन्धान जारी राखेको थियो।

इन्द्रमणि र जमुनासँग प्रारम्भिक सोधपुछ गरी यसमा संलग्न रहेका थप व्यक्तिहरूको पहिचान खुलाएर पक्राउ गरेको सिआइबीले बताएको छ।

अनुसन्धानकै क्रममा यसमा संलग्न रहेको भन्दै माघ १२ गते थप तीन जनालाई प्रहरीले पक्राउ गर्‍यो। काठमाडौं सीतापाइलाबाट ६२ वर्षीय बाबुलाल भट्टराई, ३६ वर्षीय प्रताप चौधरी र गोंगबुबाट ६१ वर्षीय गणेश भनिने गजाधर सापकोटालाई पक्राउ परेका थिए।

इन्द्रमणि र जमुनालाई खाग बेच्न यिनै तीन जनाले दिएका थिए।

बाबुलाल, प्रताप र गजाधरले भने उक्त खाग भोजपुर घर भई काठमाडौंको चाबहिल बस्ने ४५ वर्षीय डम्बरकुमार आलेमगरबाट लिएका थिए। माघ २० गते सिआइबीले डम्बरकुमारलाई पनि ललितपुरको लगनखेलबाट पक्राउ गर्‍यो।

त्यही दिन हात्तीसारबाट गोरखाका ४७ वर्षीय दानबहादुर राना र जमलबाट स्याङ्जाका ४६ वर्षीय निर्मल शाहीलाई पनि सिआइबीले पक्राउ गरेको थियो।

उनीहरूलाई पक्राउ गरेपछि फेरि थप तीन जनाको संलग्नता रहेको खुलेको एसपी थापाले जानकारी दिए।

स्याङ्जा, वालिङ नगरपालिका-८ की हरिमाया राना, चितवन, भरतपुर महानगरपालिका-८ की कमला तामाङ र इच्छाकामना गाँउपालिका-७ सुन्दरबस्तीका वीरमान वाइबाको संलग्नता रहेको खुल्यो।

प्रहरीले हरिमायालाई स्याङ्जाबाट माघ २२ गते पक्राउ गर्‍यो।

‘कमला र वीरमानसँग खाग लिएर डम्बरको समूहले बाबुलालको समूहलाई दिएको थियो,’ एसपी थापाले भने, ‘कमलाको चिनजान निर्मलसँग हरिमायाले गराइदिएकी थिइन्। हरिमायाले खागको तस्बिर पठाएर मोलतोल पनि गरेको देखियो।’

हरिमायालाई पक्राउ गरेपछि सिआइबीले माघ २४ गते भरतपुरबाट सम्झना चेपाङ भन्ने कमला तामाङलाई पनि पक्राउ गर्‍यो। उनलाई पक्राउ गरेसँगै प्रहरी शिकारीसम्म पुग्न सफल भएको हो।

कमलासँग सोधपुछ गरी भोलिपल्टै थप पाँच जनालाई पक्राउ गर्‍यो जसमा शिकारीहरू पनि थिए।

पक्राउ पर्ने थप पाँच जनामा चितवनका ३९ वर्षीय राजु भन्ने सोमबहादुर चेपाङ, ३० वर्षीय तुलसी चेपाङ, ३९ वर्षीय वीरमान वाइबा, ३० वर्षीय राधाकृष्ण चेपाङ र ५२ वर्षीय आइतबहादुर तामाङ थिए।

यही समूहले चितवनमा गैंडा मारेको एसपी सञ्जयसिंह थापाले जानकारी दिए।

उनीहरूले चितवनको कालिका नगरपालिका-१ चतुरमुखी सामुदायिक वन उपभोक्ता समूह चथा भरतपुर महानगरपालिका-११ को नवजागृति सामुदायिक वन उपभोक्ता समितिको सिमानामा पर्ने खगेडी खोला वन क्षेत्रमा गैंडा मारेका थिए। गैंडा मारेर उनीहरूले खाग काटेर लगेको एसपी थापाले बताए।

‘उनीहरूले गैंडाको खाग काटेर केही दिन त्यहीँ कालिका-९ शेरवासमा लुकाएर राखे। त्यसपछि बेच्नका लागि सोमबहादुरले कमलालाई दिए,’ उनले भने, ‘कमलाले पनि गैंडाको खागको तस्बिर खिचेर हरिमायालाई पठाइन्। हरिमायाले त्यसपछि निर्मललाई फोटो पठाएको पायौं।’

त्यसपछि खाग काठमाडौं ल्याएर बेच्न कमलाले वीरमानसँग योजना बनाएकी थिइन्।

उनीहरू खाग बोकेर मंसिर १ गते मोटरसाइकलमा मुग्लिङ हुँदै काठमाडौं आएका थिए। काठमाडौंमा उनीहरूले निर्मललाई उक्त खाग दिए। खागलाई २० लाख रूपैयाँमा बेच्ने उनीहरूले सहमति गरेको पनि प्रहरीले जनाएको छ।

यसरी उनीहरूले खाग बिक्री गर्नका लागि बजार खोज्न इन्द्रमणि र जमुनालाई जिम्मा दिए। तर उनीहरूले बेच्न लग्नुअघि नै प्रहरीले पक्राउ गरेको हो।

यसमा प्रहरीले मूल जरोसम्म संलग्न रहेका व्यक्तिहरूलाई नै पक्राउ गरेको दाबी गरेको छ। उनीहरूलाई प्रहरीले डिभिजन वन कार्यालय हात्तीसारमा बुझाएको छ। यसबारे थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button