बिस्का जात्रा अन्तर्गत भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं । बिस्का जात्रा अन्तर्गत मंगलबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ ।
यस वर्ष पनि सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभयो । प्रत्येक वर्ष वैशाख २ गते भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।
लिखित इतिहास नभए पनि जिब्रो छेड्ने परम्परा प्राचिन कालदेखि चल्दै आएको मानिन्छ । जात्राका लागि चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने प्रचलन रहेको छ। त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिघ्नबाधा आउने जनविश्वास छ ।
मध्यपुर ठिमी-२ मा रहेको गणेश मन्दिरअगाडिको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने गर्छन्।
त्यसपछि जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मी लगायत विभिन्न शक्तिपीठ परिक्रमा गर्दछन्।
परिक्रमा गरिसकेपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकाल्ने गरिन्छ।
भक्तपुरमा बिस्का जात्राअन्तर्गत मध्यपुर थिमिमा अहिले विभिन्न देवी-देवताको खटसहित बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी मनाइएको छ । सिन्दुर जात्रामा थिमि क्षेत्रको ३२ वटा खट बालकुमारी मन्दिर परिक्रमा गरेपश्चात नगर परिक्रमा गर्दै मनाउने प्रचलन छ।
मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ । जात्रामा प्रत्येक चोक, चौबाटो, घर र टोलमा सिन्दुर छर्ने गरिन्छ । काया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवता राखिएका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले सिन्दुर जात्रा भनिएको हो ।
नवौं पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय वुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले दुई वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए। कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ वुद्धकृष्ण बाग श्रेष्ठ ९ पटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए।