वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा उपप्रमुख सुनिता डंगोल

चितवन। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर–२०२५ मा छनोट भएकी छन्।
विश्वभरिबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीतिलगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना छनोट गर्दा डंगोल पनि सूचीमा परेकी हुन्। वर्ल्ड इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो।
यस वर्ष दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्रै छनोट भएकी छन्। विश्वभरिकै सूचीमा राजनीति क्षेत्रबाट डंगोलसहित १९ जना छनोटमा परेका छन्। राजनीतिबाट छनोटमा पर्नेमा डंगोलसँगै थाइल्याण्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि छन्।
डंगोलले योङ ग्लोबल लिडरमा आफू छनोट भएपछि खुसी लागेको प्रतिक्रिया दिइन्।
‘यसरी छनोट हुँदा गर्व लागेको छ,’ उनले भनिन्, ‘संसारभरको यस मञ्चमा समग्र नेपालको पनि प्रतिनिधित्व गर्दै युवा नेतृत्वका रुपमा छनोट हुँदा थप खुसी लागेको छ।’
संसारभर नै सकारात्मक सन्देश दिने यस मञ्चमा आफू छनोट हुँदा त्यो समग्र युवाको प्रतिनिधित्व भएको आफूले महसुस गरेको उनले बताइन्।
‘यो छनोटले मलाई थप जिम्मेवारीबोध भएको महसुस गरेको छु,’ उनले भनिन्, ‘आफू जुन भूमिकामा छु, त्यहाँ रहेर अझ धेरै राम्रो गर्नका लागि प्रोत्साहन पनि मिलेको छ।’
‘मिस नेवा २०११’ की विजेता डंगोलले लिपि क्विनको समेत परिचय बनाएकी छिन्। उनीसहितको टोली स्थानीय लिपिको संरक्षणका लागि नागरिकको घर, चोक, टोल र सडक हुँदै सार्वजनिक ठाउँमा ‘वर्कसप’ चलाएर उपत्यका हुँदै जिल्ला र विदेशसम्म ‘क्यालिजात्रा’को पहुँच पुर्याएको थियो।
उनलाई स्थानीय लिपिहरूको संरक्षणसँगै राजधानीको उपप्रमुख समेतको स्थानमा पुग्न सफल भएको भन्दै यसमा छनोट गरेको जनाइएको छ।
उनलाई सांस्कृतिक सम्पदा प्रवर्द्धन, युवाशक्ति सशक्तिकरण र शहरी नवप्रवर्तनमा समर्पित, एक ऊर्जावान नेतृ भएको तथा समावेशी शासन प्रणालीको पक्षधर भएर काठमाडौंका विविध समुदायको आवाजलाई प्रतिनिधित्व गर्न निरन्तर दत्तचित्त भएकाले छनोट गरेको उल्लेख छ।
वर्ल्ड इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो । यसमा छनोट हुन् हजारौँले आवेदन दिए पनि सीमित व्यक्ति मात्रै छनोट हुन्छन् ।
यस्तो छ इकोनोमिक फोरमले उल्लेख गरेका आधारको भावानुवाद :
सानै उमेरदेखि सार्वजनिक जीवनमा संलग्न सुनिता डंगोलले स्थानीय लिपिहरूको संरक्षण गर्ने उद्देश्यले युवा नेतृत्वको पहल ‘कलिजात्रा’ स्थापना गरेकी थिइन् । सुनिताले मिस नेवा प्रतियोगिता जितिन् र काठमाडौं महानगरपालिकामा शहर योजना आयोगको सबैभन्दा कान्छी सदस्य बनिन् ।
२९ वर्षको उमेरमा, उनी नेपालका ७५३ नगरपालिकाहरूमा सबैभन्दा ठूलो मतान्तरले काठमाडौंको उपमेयरमा निर्वाचित भइन् । हालैका वर्षहरूमा, उनले अक्सफोर्ड विश्वविद्यालय र ‘वर्ल्ड टुरिजम सिटिज फोडरेसन समिट’ लगायत प्रतिष्ठित कार्यक्रमहरूमा सम्बोधन गरेकी छिन् ।
सुनिताले काठमाडौंमा ‘विश्व महिला महोत्सव २०२४ (वाह नेपाल २०२४)’ पनि आयोजना गरिन् । उनी सांस्कृतिक सम्पदा, युवा सशक्तीकरण र सहरी नवप्रवर्तनलाई प्रवर्द्धन गर्न प्रतिबद्ध एक प्रगतिशील नेता हुन् । समावेशीकरणका निम्ति समर्पित उनी काठमाडौंका विविध समुदायको आवाजलाई प्रतिनिधित्व गर्न अथक प्रयास गर्छिन् ।
कलाप्रेमी सुनिता सहरको समृद्ध परम्पराको संरक्षण र पुनरुत्थान गर्न उत्साहित छिन्, साथै दिगो सहरी विकासलाई पनि बढावा दिन्छिन् । एक युवा प्रेरक र सांस्कृतिक राजदूत, उनी सम्पदा र आधुनिकताबीचको खाडललाई कम गर्न समर्पित एक नयाँ युगकी राजनीतिज्ञ हुन् ।