डिपसिकले अमेरिकी सेयर मार्केटबाट गुम्यो एक ट्रिलियन, टेक कम्पनीको सेयर घट्दो
चितवन। सानो चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप डिपसिकले अहिले अमेरिकी एआई क्षेत्रमा चर्चा पाएको छ । गत डिसेम्बर २६ मा डिपसिकले आफ्नो नयाँ संस्करण डिपसिक–भर्जन ३ सार्वजनिक गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप डिपसिकबाट पाठ सिक्नुपर्ने टिप्पणी गरेका छन् । चिनियाँ कम्पनीले कम लागतमै शक्तिशाली एआई बनाउन सफल हुनु राम्रो भएको उनको भनाइ छ ।
“चिनियाँ कम्पनीले रिलिज गरेको डिपसिक एआई हाम्रो उद्योगका निम्ति एक वेकअप कल हुनुपर्छ, ताकि हामी यो प्रतिस्पर्धा जित्न लेजरकेन्द्रित भएर लाग्न सकौँ,” ट्रम्पले सोमबार फ्लोरिडामा भने ।
डिपसिक न्यून लागतको आर्टिफिसियल इन्टेलिजेन्स मोडेल हो । यसको उदयले हालका महँगा अमेरिकी एआई कम्पनीको प्रभुत्व खतरामा पर्न सक्ने चिन्ता बढेको छ । त्यसकारण लगानीकर्ताले अमेरिकी प्रविधि कम्पनीका सेयर बेचेका छन् ।
यसै सन्दर्भमा ट्रम्पले अमेरिकी टेक कम्पनीलाई आफ्नो वर्चस्व कायम राख्न चेतावनीपूर्ण सन्देश दिएका हुन् । “मैले चीन र चीनका केही कम्पनीबारे पढेँ र एउटा तीव्र गति एवं न्यून लागतको एआई आएको छ । यो राम्रो हो, किनभने हामीले त्यसका निम्ति धेरै खर्च गर्नु पर्दैन,” उनले भनेका छन् । ट्रम्पले चीनको सस्तो एआई प्रविधिलाई अमेरिकी कम्पनीले पनि पछ्याउने बताएका छन् । उनले भने, “हामीसँगै धेरै प्रतिभावान् व्यक्ति छन् र हामी सधैँ पहिलो हुन्छौँ । त्यसैले म भन्न चाहन्छु– अर्बौँ खर्च गर्नुको सट्टा यस किसिमको प्रविधिको विकास हामीले गर्छौँ ।”
डिपसिकको चर्चासँगै अमेरिकी टेक कम्पनीको सेयर घटेको छ । सोमबार अमेरिकी सेयर बजारबाट करिब एक ट्रिलियन अमेरिकी डलर गुमेको छ ।
१६ प्रतिशत सेयर मूल्य गिरावाट भएर चिप निर्माता कम्पनी एनभिडियाको मात्र ५०० अर्ब अमेरिकी डलरभन्दा बढी गुमेको छ । यस्तै, माइक्रोसफ्टको सेयर मूल्य ३.७, गुगलको मुख्य कम्पनी अल्फाबेटको २.६, टेस्लाको १.५, सिस्को सिस्टमको ४.९ र चिप निर्माता ब्रोडकमको सेयर मूल्य १६.४३ प्रतिशतले घटेको छ ।
अमेरिकी स्टक एक्सचेन्ज नास्ड्याक नै सोमबार करिब तीन प्रतिशतले घटेको छ । सस्तो र कम शक्तिशाली चिपबाटै डिपसिकजस्तो एआई प्रविधि बन्ने देखिएपछि लगानीकर्ताले महँगा अमेरिकी एआई कम्पनीहरुको सेयर बेचेका हुन् ।
डिपसिकको एप एप्पलको एप स्टोरमा हाल अमेरिका, बेलायतलगायत विभिन्न देशमा डाउनलोड र रेटिङका आधारमा एक नम्बरमा पुगेको छ ।
को हुन् डिपसिकका संस्थापक ?
डिपसिकको स्थापना सन् २०२३ मा लियाङ वेनफेङले गरेका हुन् । ४० वर्षीय इन्फरमेसन एवं इलेक्ट्रोनिक इन्जिनियर ग्र्याजुएटले नै डिपसिकको मुख्य कम्पनी हाई फ्लेयरको स्थापना गरेका थिए ।
उनले हाल चीनमा बिक्री गर्न प्रतिबन्धित ५० हजारवटा एनभिडिया ए१०० चिपको भण्डारण गरेको र ती र अन्य चिपको प्रयोगबाट डिपसिक लन्च गरेको आकलन गरिएको छ ।