आज सिंहदरबारबाट ‘सगरमाथा संवाद’ घोषणा गर्दै प्रधानमन्त्री
काठमाडौं । सरकारले आज मंगलबार ‘सगरमाथा संवाद’ घोषणा गर्ने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सगरमाथा हलबाट आज दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम घोषणा गर्ने भएका हुन् ।
पहिलो पटक हुन लागेको सगरमाथा संवादको विषय ‘जलवायु परिवर्तन, पर्वतीय र मानवीय भविष्य’ तय भएको छ। जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वका विभिन्न मुलुकबीच समान धारणा बनाउन कार्यक्रम आयोजना गरिएको वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा महेश्वर ढकालले जानकारी दिए ।
यसअघि २०७६ सालमा ओली नै प्रधानमन्त्री भएको बेला यो कार्यक्रम अघि बढाइएको थियो। तर, कोभिड–१९ कारण कार्यक्रम त्यतिबेला कार्यक्रम स्थगित भएको थियो।
यो संवाद हाललाई प्रत्येक दुई वर्षमा आयोजना गर्ने मन्त्रिपरिषद्को निर्णय छ। आगामी जेठ २, ३ र ४ गते सगरमाथा संवाद कार्यक्रम गर्ने तयारी सरकारले अघि बढाएको छ।