चितवनमा सडक दुर्घटना हुँदा एक सैनिक जवानको मृत्यु
चितवन। भरतपुर महानगरपालिका- १ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ।
नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको उपचारको क्रममा राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । उनी तनहुँ भानु नगरपालिका–१२ का स्थायी बासिन्दा हुन्।
पोखरा बसपार्कस्थित स्वामी चोक नजिक मंगलवार साँझ ७ः ३० बजेको समयमा रामनगरतर्फ जाँदै गरेको बा.प्र. ०१–०२८च ३२८९ नम्बरको कारमा विपरित दिशाबाट आउँदै गरेको ग २० प ८३१८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार सैनिक जवानको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सोही गणमा कार्यरत बन्दीपुर गाउँपालिका–३ का २६ वर्षीय दिनेश थापा गम्भीर घाइते भएका छन्। गए राति बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेको उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो। उपचारका क्रममा सैनिक जवान सार्कीको मृत्यु भएको हो।
मोटरसाइकलको लेगाडले कारमा लाग्दा मोटरसाइकल अनियन्त्रित भई छेउमा रहेको पर्खालमा ठोक्किन पुगेको थियो । कार चालक धादिङको धुनिबेसी नगरपालिका–७ बस्ने ४२ वर्षीय राजु भण्डारी र कार जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेका छन् ।