श्रीमानले नेपालबाट केटी पठाउने, श्रीमतीले कतारमा बेचबिखन गर्ने खुलासा

चितवन। वैदेशिक रोजगारीका लागि भन्दै नेपालबाट चेलीबेटी कतार पठाउने र कतारमा बेचबिखन गरेको खुलेको छ ।
उक्त घटनामा श्रीमानले नेपालबाट कतार चेलीबेटी पठाउने र कतारमा आफ्नै श्रीमतीले बेचबिखन गर्ने खुलासा भएको हो।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ का ३२ वर्षीय ङेमा लामालाई पक्राउ गरेर अनुसन्धान गर्दा उक्त विषय खुलेको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले जनाएको छ ।
ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार कतार पठाउनका लागि नक्कली कागजातसमेत बनाउने गरेको खुल्न आएको छ । ङेमाले आफ्नै श्रीमती पनि कुवेतमै रहेको राम्रो काम र मासिक ५० हजार रुपैयाँ आम्दानी हुने भन्दै प्रलोभनमा पारेर कतारमा महिला पठाउने गरेको दाबी ब्यूरोले गरेको छ ।
यही शैलीमा एक महिलालाई वर्किङ भिसामा क्लिनरको काम भन्दै ५ कात्तिक २०८० मा ९५ हजार रुपैयाँ लिएर ङेमाले कतार पठाएको खुलेको छ । कतारकै एअरपोर्टमा ङेमाकी श्रीमतीले ती महिलालाई रिसिभ गरेर कुवेती नागरिकको घरमा ५ लाख रुपैयाँमा बिक्री गरेको पाइएको मिश्रले बताए ।
त्यसपछि कुवेती नागरिकले बन्धक बनाई घरेलु कामदारको रुपमा राख्ने पारिश्रमिक समेत नदिने र यौन शोषण गर्ने गरेको पाइएको ब्यूरोले जनाएको छ । ३ महिनापछि ती महिला भागेर कुवेतस्थित नेपाली दूतावास पुगेकी थिइन् ।
तर, एजेन्ट अफिसले घरबाट आफूखुसी भागेको भन्दै प्रहरीमा उजुरी दर्ता गरेको थियो । प्रहरीमा उजुरी परेपछि उनी ३ दिन थुनामा बसेर ५७ हजार नेपाली रुपैयाँ तिरेर थुनामुक्त भएकी थिइन् ।
थुनामुक्तपछि दूतावासले बनाइदिएको ट्राभल डकुमेन्टबाट उनी २९ माघ २०८० मा नेपाल आएकी छिन् । त्यसपछि दिएको जाहेरीको आधारमा ङेमालाई पक्राउ गरेर मानव बेचबिखनको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।