२९ कार्तिक २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सहचालकले बस चलाउँदा मुस्ताङमा दुर्घटना - Nepal Rastra Khabar N
Banner news (with photo)ताजा समाचारमुख्य समाचार

सहचालकले बस चलाउँदा मुस्ताङमा दुर्घटना

जोमसोम: मुस्ताङको जोमसोमबाट पोखरातर्फ जाँदै गरेको म्याग्दी कोरला यातायात प्रालिको यात्रुबाहक बस बुधबार बिहान ८:३० बजे थासाङ गाउँपालिका–३ थम्पु सडकमा दुर्घटना भयो । प्रालिको ना ७ ख ७४४० नम्बरको बस बेनी–जोमसोम सडकबाट करिब ४५ मिटर तल कालिगण्डकी नदीमा खस्यो ।बस दुर्घटनामा  १७ जना यात्रु घाइते भए ।बस कालिगण्डकी नदीमा उत्तानो अवस्थामा पल्टियो ।

बसमा दुई भारतीयसहित १७ जना यात्रु थिए । जसमध्ये १० जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने सामान्य घाइतेको लेते प्राथमिकत स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेको प्रहरी र स्थानीयबासीले कालिगण्डकी नदीबाट उद्दार गरेका थिए ।

जोमसोमबाट बिहान ७ बजे यात्रु चढाएर पोखरातर्फ जाँदै गरेको म्याग्दी कोरलाको बस करिब ८ बजे थासाङको छाक्तान भन्ने स्थानमा रहेको खाङ्लो खाजाघरमा रोकियो । त्यहाँ बसका यात्रुले चिया नास्ता गरे । त्यहाँ खाजा खान रोकिएको बस गन्तव्यतर्फ मोडियो । बसमा त्यही खाङ्लो खाजाघरका सञ्चालक महेन्द्र गौचनमा चढे । बस धम्पु पुल नजिकै पुग्यो । त्यहाँ पुग्दा दुई जना महिला बसमा चढे । उनीहरु चढेको ५ मिनेट नपुग्दै बसले सडक छोडेर कालिगण्डकीमा खस्यो ।

खाङ्लो खाजाघरका संञ्चालक महेन्द्र गौचन सधै पोखरा जाँदा म्याग्दी कोरलाको बसमा यात्रा गर्ने गर्छन् । यसैले म्याग्दी कोरला बसका सबै स्टाफलाई उनले राम्ररी चिन्दछन्। उनी आफ्नो खाजा घरबाट पोखरा जानका लागि त्यही बसमा चढे । त्यतिबेला बसको डाइभिङ सिटमा चालक नभइ सहचालकले बस चलाएको देखे । बस चढेको केही पर दुई महिला बसमा चढ्न थाले । बसमा चढेका दुई महिलालाई बसको पछाडि सिट छ बस्नुस भनेर गौचनले जानकारी गराए ।

तर,महिलाले कुरै सुनेनन् । उनीहरु सिधै बसको क्याबिनभित्र पसे । बसको क्याबिनमा पुरै सिट भरिसकेको थियो । तैपनि कोचाकोच दुई महिलालाई पनि क्याबिनमा एकजस्ट गराइयो । क्याबिन सिट भरिएकै अवस्थामा बस चल्दै थियो । सहचालकले पछाडि फर्किएर मुन्टो घुमाए ।त्यसको लगत्तै बस हेर्दाहेर्दै बाँयातर्फको डिलमुनीबाट एक्कासी कालिगण्डकी नदीमा खस्यो ।

त्यसो त गौचन बसमा चढ्दा चालक नभइ सहचालक बस चलाएको देखेपछि सुरुवातमा केही डराएका थिए । सहचालकले बस चलाएको गौचनले कहिल्यै देखेका थिएन । उनले सोचेका थिए । बसमा लेते कटेपछि चालकले नै बस चलाउँछन् ,नत्र चालकलाई नै बस चलाउन लगाउँछु भन्ने सोचेका थिए । तर,उनले चालक फेर्ने जुन सोचाइ बनाएका थिए ,त्यहाँ पुग्न केही बेरमै बस दुर्घटनामा पर्‍यो।

बसमा सवार प्रत्यक्षदर्शी गौचनले चालक  कृष्ण रसाईलीले आफू क्याबिन पछाडि बसेर सहचालक अर्जुन ढकाललाई बस चलाउन दिएको बताए । उनले यात्रु सवार बस चालकले नचलाई सहचालकलाई जिम्मेवार दिनु गैरजिम्मेवार रहेको टिप्पणी गरे ।

त्यसो त मुस्ताङको खन्तिमा सुरक्षा बिट छ । त्यहा सवारी चेकजाँच हुन्छ । तर,बसमा खासै चेकजाँच भएको देखिदैन । म्याग्दी कोरला यातायात ,बसका चालक र बसको काउन्टरमा बस्ने कर्मचारीले जिम्मेवारी बहन गर्न नसक्दा बस दुर्घटना भएको गौचनको भनाइ छ । उनले यात्रु बाहक बस चलाउँदा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button