दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ आमा छोराहरु घाइते

चितवन । दाङको तुलसीपुरमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
शनिबार बिहान करिब ४:५० बजे सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको डबल क्याप बोलेरो जिप तुलसीपुर उपमहानगरपालिका-३ साततेलमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दाङको दंगीशरण गाउँपालिका-४ बैबाङका २२ वर्षीय हिरामणि बुढा मगर र सल्यानको कपुरकोट गाउँपालिका-६ का १९ वर्षीय सुरेश खड्का छन् भने उनीहरूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अलिन ठकुरीले जानकारी दिए ।
पाँच जना सवार रहेको जिप सडकबाट झन्डै तीनसय मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका तीन जनाको अवस्था गम्भीर रहेको छ । सल्यानको कपुरकोट गाउँपालिका – ६ की ३१ वर्षीया टीकादेवी वली, उनका छोराहरू १३ र १० वर्षका महेश र जीवन वली गम्भीर घाइते भएका र उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा पठाइएको डिएसपी ठकुरीले जानकारी दिए ।
उक्त दुर्घटना लगतै इलाका प्रहरी कार्यालय प्रमुख ठकुरीको नेतृत्वमा १२ जनाको प्रहरी टोलि घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो । घाइतेहरूलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचारका लागि त्येहा लागिएको थियो र पछि थप उपचारका लागि नेपागञ्ज रेफर गरिएको हो ।
उक्त घटनाको ठोस कारण नखुलेको र थप अनुसन्धान भैरहेको प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।