साफ महिला च्याम्पियनसिपः उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

चितवन । साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा आज (बिहीबार) भारत र पाकिस्तान भिड्दैछन्।
सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ ।
प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।
साफको सर्वाधिक सफल टोली भारत उपाधि दाबेदार टोली हो। अघिल्लो संस्करण नेपालमा नै भएको साफमा भारत घरेलु टोलीसँग पराजित हुँदै सेमिफाइनलबाटै बाहिरिएको थियो। यद्यपी यो पटक भारत उपाधि जित्ने लक्ष्यका साथ थप बलियो भएर आएको छ।
एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ ।
साफको पहिलो दिन आज एक खेल मात्र हुनेछ। भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा साविक विजेता बंगलादेश पनि छ।
फिफाले पाकिस्तानी फुटबल टोलीलाई ८ वर्ष प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धकाबीच पनि पाकिस्तानी महिला फुटबलर विदेशी लिगमा व्यस्त रहे।
जसका कारण विदेशी लिगको अनुभव उनीहरुले साफमा प्रयोग गरेका थिए। तर यो पटक भने अझ राम्रो प्रर्दशन गर्नेमा कप्तान मारिया खान आशावादी छन्।
नयाँ खेलाडीको साथमा आएको पाकिस्तान च्याम्पियनसिपमा सुखद सुरुवात गर्ने योजनामा छ। साफ च्याम्पियनसिपको समूह चरणको खेलका लागि साधारणतर्फ ३ सय र भीआइपीतर्फ ५ सय रुपैयाँ रुपैयाँ टिकट दर तोकिएको छ।