बाढीबाट मधेशमा मात्रै ८० करोडभन्दा बढीको क्षति, सबैभन्दा धेरै रौतहटको धान बालीमा क्षति

धनुषा । हालै गएको बाढी पहिरोबाट मधेश प्रदेशमा रु. ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ ।
मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ । यो क्षति रु. १९ करोड ५० लाखभन्दा बढीको हो ।
अन्न भण्डारका रूपमा परिचित मधेशका धानखेत डुबेका छन् । बाला लागेको धान डुब्दा किसान चिन्तित छन् । माछा पोखरी डुब्दा करोडौँको क्षति भएको कृषि विज्ञहरूले बताएका छन् ।
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मनसुनजन्य विपद्बाट सिर्जित परिस्थितिका सन्दर्भमा छलफल गरी छिटोभन्दा छिटो कृषि क्षेत्रको क्षतिका तथ्याङ्क सङ्कलन गरी आगामी रणनीति बनाउन कर्मचारीलाई निर्देशन दिएपछि सातै प्रदेशबाट क्षतिको विवरण माग्ने कामले तीव्रता पाउँदा अहिले प्रारम्भिक क्षति विवरण तयार पारिएको छ ।
प्रदेशका आठ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरणानुसार ४२ हजार ६९ हेक्टरमा लगाइएको धान बालीमा क्षति पुगेको अनुमान छ ।
सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले रु. १२ करोड ८० लाख तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट रु. नौ करोड ५० लाखको क्षति भएको छ ।
यसै गरी, सर्लाहीमा बागमती, लखनेहीसहितका खोलाको बाढीले रु. नौ करोड २५ लाख, बारामा रु. आठ करोड ५० लाख, सिरहामा रु. सात करोड ९० लाख, महोत्तरीमा रु. सात करोड ५० लाख र पर्सामा रु. पाँच करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।
बाढीबाट क्षति भएका संरचनाको मर्मतसम्भारका लागि प्रदेश सरकारले रु आठ करोड निकासा गरेको छ ।
कृषि विकास निर्देशनालयका अनुसार मधेशका आठ जिल्लामध्ये सबैभन्दा धेरै रौतहटमा धान बालीमा क्षति भएको पाईएको छ ।