विदेश जानेलाई सहजै ऋण दिन चितवनमा प्रभु बैंकको एजुकेशन हब सञ्चालनमा
चितवन । वैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरूलाई ऋण सहजताको लागि प्रभु बैँकले एजुकेसन हबको शुभारम्भ गरेको छ ।
नारायणगढमा एक कार्यक्रमका बीच आइतबार बैँकले हबको शुभारम्भ गरेको हो । योसँगै शैक्षिक ऋणका लागि यहाँका विद्यार्थी तथा अभिभावकलाई काठमाडौँ जाने बाध्यता समेत हटेको छ ।
यो सेवाबाट विद्यार्थी, अभिभावक, शैक्षिक परामर्श संस्थालाई वित्तीय प्रक्रियाको लागि सहज र सरल सेवा मिल्ने बैंकले जनाएको छ । बैंकले विद्यार्थी तथा अभिभावकको वित्तीय सहजताको लागि चितवनबाटै सेवा सुरु गरेको जनाएको हो ।
पुरा कागजात भएका विद्यार्थीको अधिकतम पाँच दिनभित्र ऋण स्वीकृति हुने छ । यसका लागि अलग्गै कर्मचारीहरू समेत खटाइएको छ । बैंकले यसअघि यो सेवा गण्डकी प्रदेशमा सुरु गरिसकेको छ ।
हालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपाल भर १३५ शाखा कार्यालयहरू रहेका छन् ।
एजुकेसन हबको शुभारम्भले चितवन र त्यसवरपरका जिल्लाका विद्यार्थी र अभिभावक लाभान्वित हुने बैंकको भनाइ छ । बैंकका अनुसार एजुकेसन लोनको परामर्श तथा प्रक्रियाका लागि विद्यार्थीले एजुकेसन हब अथवा प्रभु बैंकका जुनसुकै शाखाबाट सेवा लिन सक्ने बताइएको छ ।