एन्फाले पहिरोमा ज्यान गुमाएका ६ खेलाडीको परिवारलाई ८ लाख दिने
चितवन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका एन्फा एकेडेमीका ६ खेलाडीको प्रति परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ।
एन्फा कार्यसमितिको आइतबार बसेको आपतकालीन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै ज्यान गुमाएका खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष खोल्ने निर्णय गरेको छ।
त्यो कोषमा अन्यलाई सहयोग गर्न अपिल गर्ने तथा फिफा र एएफसीमा थप राहतको लागि अपिल गर्ने पनि एन्फाले जनाएको छ।
आसोज ११ गते मकावनपुर जिल्ला इन्द्रसरोवर गाँउपालिका वडा नं. ३ स्थित एन्फा वात्सल्यदेवी एकेडेमीका ६ जना खेलाडीहरु आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आर्चाय, दिवस बॉनिया, अनुपम घलान र साईमन योन्जनको पहिरोमा परि मृत्यु भएको थियो।
एन्फाले बालकहरुको मृत्युको घटना छानबिन गर्न एन्फाले केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठ संयोजक रहेको समिति गठनसमेत गरेको छ ।
समितिमा केन्द्रीय सदस्य टीकाराम लामा र सहायक महासचिव दामोदर भट्टराई सदस्य छन् । उनीहरुलाई सत्यतथ्य सहित प्रतिवेदन दिन एक महिनाको समय दिइएको छ ।