प्रधान न्यायाधीशमा सिफारिस प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी
चितवन। सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिस भएका प्रधानन्यायाधीश राउतविरुद्ध ६ थान उजुरी दर्ता भएको छ। संसद् सचिवालयका अनुसार प्रक्रियागत र व्यक्तिगत गरी प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी दर्ता भएका हुन् । दुवै सदनको संयुक्त समितिमा कुल ८ उजुरी दर्ता भएकोमा ६ वटा प्रस्तावित प्रधान न्यायाधीश र २ वटा राजदूतविरुद्ध रहेका छन् । उजुरीको पोका आज खोलिने र के कस्ता उजुरी परेका छन् अनि मात्र सार्वजनिक हुनेछ।
गएको भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश राउतलाई नियुक्त गर्न सिफारिस गरेको थियो। असोज ३ गते बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेकोमा तोकिएको १० दिन (आइतबार) राउतविरुद्ध ६ वटा उजुरी प्राप्त भएको समितिका एक जना कर्मचारीले जानकारी दिए।
असोज ३ को समितिको बैठकले प्रधानन्यायाधीश सिफारिस राउतसँगै बेल्जियम र अस्ट्रेलियाका लागि राजदूत सिफारिस सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध पनि उजुरी माग गरेको थियो।
सिफारिस भएका दुई न्यायाधीशको उजुरी आह्वान हुँदै :
त्यस्तै आज बस्ने संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतका लागि सिफारिस भएका दुई न्यायाधीशमाथि उजुरी माग गर्ने तयारी गरेको छ। आज १ बजेका लागि संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । न्याय परिषद्ले सर्वोच्चको न्यायाधीशका लागि नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सिफारिस गरेको थियो ।