झ्याप्लेखोला पहिरोमा अर्को बस पनि भेटियाे, थप ३ जनाको शव फेला
चितवन। काठमाडौं र धादिङको सिमाक्षेत्रमा पर्ने झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको अवस्थामा फेला परेको छ । सशस्त्र प्रहरी बलका अनुसार उक्त बसबाट ३ जनाको शव निकालिएको छ ।
अहिले जेसीबीले पहिरो हटाइरहेको छ जसमा बसको आधा भाग मात्रै देखिएकाे बताईएको छ।
शनिबार सोही स्थानबाट पहिरोले पुरिएको अवस्थामा लु.१ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ जना र बसबाट ९ जना गरि १४ वटा शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।
गोरखाको धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस शुक्रबारदेखि सम्पर्कमा छैन । भेटिएकाे बस साेही बस हुनसक्ने प्रहरीकाे अनुमान छ ।
सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उक्त बस गोरखाको लापुबेसीबाट छुटेको आंशका गरिए पनि यकिन भने भइसकेकाे छैन ।
पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी कार्य गरिरहेको छ ।
निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्ड क्षतविक्षत छ। झ्याप्लेखोला आसपास फसेका धेरै गाडीका यात्रुले लामो समयदेखि उद्धारका लागि हारगुहार गरिरहेका थिए। तीमध्ये कतिपय भागेर ज्यान जोगाएका थिए। उनीहरु पैदलै काठमाडौँ आइपुगेका छन्।
देशका विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे–नागढुंगा सडक ठाउँठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ।