सहकारी रकम ठगी गरेर नेपाली मेयर फरार, दिल्लीमा पक्राउ
चितवन। सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँदिल्लीबाट पक्राउ परेका छन् ।
उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए । पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको उनले जानकारी दिएका छन् । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।
बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार थिए । यो सहकारी प्रकरणमा मुछिएका अरू केही सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा चले पनि उनी कारबाहीको दायरा बाहिर थिए । उनी इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । उनीसहित सहकारी सञ्चालकले एक हजार ५ सय बढी बचतकर्ताको डेढ अर्ब बढी रकम अपचलन गरेको आरोप छ ।
इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा मात्र छन् भने पोखरा सिर्जनाचोकमा समेत यसको शाखा छ । बागलुङमा मात्र २ अर्बभन्दाब बढी रकम हिनामिना भएको अनुमान गरिएको छ । बागलुङ र पोखरा दुबै ठाउँमा बचतकर्ताका संघर्ष समिति नै बनाएर मेयर नेपालीलाई प्रकाउ गरी कारबाहीको माग गर्दै आएका छन् ।
श्रीमतीसहित फरार रहेका मेयर नेपालीले ५ मंसिर ०८० मा फेसबुकमा भिडियो सन्देश तथा विज्ञप्तिमार्फत आफ्नो र श्रीमतीको नाममा रहेको घरजग्गाबाट हिसाब मिलाउन तयार रहेको सार्वजनिक गरेका थिए ।
फेसबुकमार्फत फरार मेयर नेपालीले आफू र श्रीमतीको नाममा भएको ३ अर्बभन्दा बढी सम्पत्ति मालपोत कार्यालयमा गएर हस्तान्तरण गर्न तयार रहेको बताएका थिए । बुर्तिबाङ, बागलुङ, पोखरा र काठमाडौंमा रहेका ४५ कित्ताहरुमध्ये बुर्तिबाङ मा ७ वटा घर, बागलुङमा २ वटा घर, पोखरा मा ३ वटा घर, काठमाडौंमा ६ वटा घर गरी जम्मा १८ वटा घर मेयर नेपाली र श्रीमतीको नाममा रहेको उनले खुलाएका थिए ।
यी हुन् १३ प्रतिवादी
इमेज बचत तथा ऋण सहिकारी संस्थाको ठगी मुद्दामा १३ जनालाई प्रतिवादी बनाइएको छ। यीमध्ये ६ जना पुर्पक्षका लागि थुनामा छन्। बाँकी ७ जना फरार छन्।
फरारमध्ये अध्यक्ष देवकुमार र उनकी पत्नी छेला नेपालीविरुद्ध रेड नोटिस जारी भएको छ। अरु ५ जना पनि फरार छन्। उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ।
यो मुद्दामा सहकारीका संचालक समिति सदस्य चित्रबहादुर भण्डारी, लेखा प्रमुख लालमती रोका, प्रबन्धक शक्ति किसान, उपाध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली र कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई प्रतिवादी बनाइएको छ।यस्तै सञ्चालक समिति सदस्य रुपा बिक, सदस्य झगबहादुर शाही, गलकोट शाखा प्रबन्धक अनिल नेपाली, बुर्तिबाङका लेखा प्रमुख अनिता बुढा र ओमप्रसाद दर्जीलाई पनि प्रतिवादी बनाइएको छ।