सीके राउत दम्पतीले किन दिए एक अर्काविरुद्ध उजुरी ?
चितवन। जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र उनकी पत्नी सोनी सिन्धु रानीले एकअर्का विरुद्ध प्रहरीसमक्ष निवेदन दिएका छन् ।
शान्ति सुरक्षामा खतरा भएको भन्दै एक आपसमा निवेदन दिएका पाईएको छ।
जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शेखर खनालका अनुसार, राउतले प्रहरी प्रभाग इमाडोल र उनकी पत्नीले प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएका हुन् ।
प्रहरीका अनुसार, राउतले आफ्नो निवेदनमा श्रीमतीका कारण बस्न सक्ने स्थिति नभएको विवरण निवेदनमा लेखेका छन् ।
‘कहिले आत्महत्या गर्छु भन्ने, कहिले तोडफोड गर्छे’, उनको निवेदनमा भएको व्यहोरा उल्लेख गर्दै प्रहरी स्रोतले भन्यो । दुवै जनाले ठाडो निवेदन दिएको स्रोतको भनाइ छ ।
पत्नी रानीले दिएको निवेदनमा भने श्रीमान् सके राउतले सम्बन्ध विच्छेद गर्न दबाब दिएको भन्दै नगरे जे पनि गर्न सक्छु भन्दै धम्की दिने गरेको उल्लेख गरेकी छन् ।
‘मेरो पहुँच माथिल्लो निकाय, सरकारसम्म छ, म चाहेको खण्डमा जे पनि गर्न सक्छु, तिमी मसँग नबस, हाडीगाउँको घरमा जाऊ भनी दबाब दिँदै ज्यान सम्बन्धी धाकधम्की दिएको हुँदा असुरक्षित महसुस गरेको छु’, उनले भनेकी छन् ।
अहिले राउत र उनकी पत्नी इमाडोलस्थित एउटै घरमा बस्दै आएका छन् ।
दुवैको निवेदनमाथि अहिले अध्ययन मात्र भएको प्रहरी अधिकृतहरुको भनाइ छ ।
सातदोबाटो प्रहरीका एक अधिकृतका अनुसार, राउतले इमाडोलमा श्रीमतीविरुद्ध शान्ति सुरक्षा माग गर्दै निवेदन दिएको केही दिनपछि गत शुक्रबार उनीविरुद्ध पनि रानीले उजुरी दिएकी हुन् ।