आज तीजको दर खाने दिन, तीज पर्व आजदेखि सुरु
चितवन। हरितालिका (तीज) व्रतको अघिल्लो दिन आज हिन्दु महिलाहरु दर खाने तयारीमा जुटेका छन् । दरखाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदैछ ।
विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ ।
भाद्र शुक्ल द्वितीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ। दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा पनि लिइन्छ।
विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरूले योग्य पतिको माग गर्दै भोलिपल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दूधबाट निर्माण मिष्ठान्न परिकार तयार गरी दर खाने चलन छ । तीजमा महिलाहरूले दरका रूपमा खीर, पुरी, तरकारी, सेल रोटी, मिठाइहरू आदि बनाउने परम्परा पनि छ ।
तीज र दरखाने दिन महिलाहरूका लागि विशेष अवसर हो, जहाँ उनीहरू आफ्नो सुखदुःख बाँड्न सक्छन् । यो दिन महिलाहरूले एकापसमा आत्मीयता साटासाट गरेर सामाजिक, मानसिक र भावनात्मक रूपमा सशक्त बन्ने मौका पाउँछन् ।
आज दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन गर्छन।
दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ। दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने मान्यता रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्।