सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न पूर्वआइजिपीहरुको माग
चितवन। अमर्यादित अभिव्यक्ति दिएको भन्दै १७ जना पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) ले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न माग गरेका छन्।
पोखरामा भएको एक कार्यक्रममा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी ऐन कार्यान्वयन गर्न आनाकानी गरेको आरोप लगाएका प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिको आलोचना भएको थियो।
त्यही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरूको सङ्गठन ‘पूर्व प्रहरी सङ्गठन प्रमुख मञ्च’ ले मन्त्री गुरुङलाई कारबाही गर्न प्रहरीको ध्यानाकर्षण गराएका हुन्।
विज्ञप्तिमा १७ पूर्व प्रहरी महानिरीक्षकको हस्ताक्षर रहेको छ । विज्ञप्तिमा मन्त्री गुरुङलाई तत्काल आफ्नो भनाइ फिर्ता लिएर नेपाल प्रहरी सङ्गठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न तथा आउँदा दिनमा सुरक्षा निकायमाथि टिप्पणी गर्नुअघि थप सचेत रहन पनि आग्रह गरिएको छ ।
vमन्त्री गुरुङले प्रहरी महानिरीक्षकविरुद्ध प्रयोग गरेका शब्द अमर्यादित र अशोभनीय भएको तथा यसले मन्त्रीकै राजनीतिक कद घटाएको विज्ञप्तिमा उल्लेख छ।
मञ्चले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारबाही गर्नु हुन पनि अनुरोध गर्दछौं ।’
साथै मन्त्री गुरुङलाई उक्त बचन तत्काल फिर्ता लिई प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न पनि मञ्चले माग गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति: