गण्डकी सरकारमा डेढ महिनापछि सामेल भयो एमाले, ४ मन्त्रीले लिए शपथ
चितवन। गण्डकी सरकारमा नेकपा एमालेबाट मन्त्री बनेका ४ जनाले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्यालले शपथ लिए ।
उनीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका छन् ।
नवलपुरकी पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी, बागलुङका कृष्ण पाठकले स्वास्थ्य, पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीका रुपमा शपथ लिएका छन् ।
कांग्रेस एमाले गठबन्धनयता एमालेले सरकारमा सामेल हुन केही शर्त अघि सारेको थियो । भागबन्डा मिलाउन मन्त्रालयको संख्या बढाएलगत्तै एमाले सरकारमा गएको हो ।
गण्डकी सरकारमा ७ बाट बढाएर ९ मन्त्रालय बनाएपछि एमालेले ४ मन्त्रालय पाएको हो । सामाजिकबाट फुटाएर स्वास्थ्य बनाइएको हो भने एउटै मन्त्रालय रहेको उद्योग तथा पर्यटन र वन तथा वातावरणलाई दुई वटा बनाइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङेको जिम्मेवारी हेरफेर गर्दै वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो । ४ मन्त्री नियुक्ति गरेर शपथ खुवाएसँगै गण्डकीको मन्त्रिपरिषदले पूर्णता पाएको छ ।
नेपाल समाजवादी पार्टीका फणीन्द्रको मन्त्रालय यथावत राखिएको छ भने कांग्रेसबाट मुख्यमन्त्री पाण्डेसँगै आर्थिक मामिलामा डा. टकराज गुरुङ र समाजिक विकासमा विन्दुकुमार थापा छन् ।
केन्द्रमा कांग्रेस–एमाले समीकरण बनेको २ महिनापछि गण्डकीको मन्त्रिपरिषदले पूर्णता पाएको हो ।