चितवन सिमलतालमा बस र ट्रक एकापसमा ठाेक्किए
चितवन। नारायणगढ सडक खण्डमा यात्रुवाहक बस र ट्रक ठोक्किएका छन् ।
चितवनको सिमलतालनजिकै नारायणगढतर्फबाट आउँदै गरेको एआर ०१ ३६७४ नम्बरको भारतीय यात्रुवाहक बस र मुग्लिनबाट जाँदै गरेको ग२ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् ।
दुर्घटनाबाट भारतीय बसमा सवार केही यात्रु सामान्य घाइते भएको बताइएको छ । ट्रक चालक सामान्यलाई पनि चोटपटक लागेको छ ।
दुर्घटनामा ट्रकमा चालकसहित तीन जना घाइते भएका छन भने बसका यात्रु सकुशल छन । घाइते हुनेमा ट्रकका चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका ३ बस्ने २८ वर्षिय राजन क्षेत्री,ट्रकमा सवार बाराका मन्ज रावल र सोही ठाउँका आशिष चौरासिया रहेका छन ।
दुवै सवारीसाधनमा क्षति पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो । बसका चालक फरार रहेको र सहचालक नियन्त्रणमा रहेको भण्डारीले बताउनुभयो । सडकखण्डमा अहिले यातायात नियमित सञ्चालनमा रहेको भण्डारीले जानकारी दिनुभयो ।
यस्तै चितवनको भरतपुर महानगरपालिका २९ जुगेडीमा आज बिहान तीन सवारीसाधन एकै ठाउँमा ठोक्किएका छन । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा ११ च ८२६२ नम्वरको टाटा सफारी गाडीले रोकिराखेको बागमती प्रदेश ०३–००१ च १७७० नम्वरको बोलेरो जिप र ग २ च ४४३६ नम्बरको हाइलेक्स जीपलाई ठक्कर दिएको हो । ठक्करबाट तीनवटै सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको अन्य विस्तृत विवरण आउन बाँकी छ ।